देवघाटधाममा महायज्ञ, गुरुकुल सञ्चालनार्थ रकम संकलन गर्ने

चितवन १४ माघ । महेश संस्कृत गुरुकुल सञ्चालनका लागि रकम संकलन गर्ने उद्देश्यले देवघाटधाममा वृहत ज्ञानमहायज्ञ आयोजना हुने भएको छ ।
निःशुल्क रुपमा आवासिय सहित गुरुकुलमा विद्यार्थीले आयार्चसम्म अध्ययन गर्दै आएका छन् । ती विद्यार्थीलाई अध्ययन सहित अन्य व्यवस्थापनको लागि रकमको अभाव हुन थालेपछि ज्ञानमहायज्ञ गरेर रकम संकलन गर्न लागिएको हो ।
धाममा यही माघ २२ गतेदेखि फागुन १ गतेसम्म विराट् ज्ञानमहायज्ञ हुदैछ । २०५० सालमा स्थापित महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्ष एवम् सन्त शिरोमणि ब्रहलीन श्री १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पावन स्मृतिमा यज्ञ गरिदैछ ।
अन्य स्थानको भन्दा फरक ढंगबाट यहाँ महायज्ञ आयोजना गरिएको आयोजक मूल समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताउनु भयो । १० वर्षपछि ज्ञान महायज्ञको आयोजना हो । आयोजक मूल समितिले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको थियो । ‘पवित्र तीर्थ देवघाटधामको धार्मिक एवम् सांस्कृतिक महत्वको प्रचारप्रसारका साथै प्राचीन वैदिक यज्ञपद्धतिको संरक्षण गरी वैदिक सनातन धर्म र संस्कृतिको संवद्र्धन र प्रचार गर्नु महायज्ञको मूल उद्देश्य हो ’ डाक्टर सुवेदीले भन्नु भयो ।
महायज्ञ सञ्चालनका लागि महेश संन्यास आश्रमका वर्तमान पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको अध्यक्षतामा देशका विभिन्न प्रतिष्ठित महानुभावहरुसहितको १००८ सदस्यीय महायज्ञ आयोजक मूल समितिको गठन भएको छ । यसका साथै हालसम्म देशका करिब ६० जिल्लामा सहयोग समितिको गठन भइसकेको र प्रचार प्रसार गरिदै आएको जानकारी दिएको छ ।
महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गर्ने कार्यक्रम हरेको छ । महायज्ञको सञ्चार समन्वय एवम् प्रचार प्रसार उपसमितिका संयोजक टंकनाथ पौडेलले समापन कार्यक्रम गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङबाट हुने बताउनु भयो । उहाले, ‘महायज्ञबाट देवघाटधामको परिचय देशविदेशमा लैजाने र देवघाटधामको पर्यटकीय महत्व बढ्दै जाने अपेक्षा गरिएको छ ।’
पौडेलका अनुसार देशविदेशबाट हजारौं श्रद्धालुहरु महायज्ञमा सरिक हुनेछन् । ‘दुई हजार श्रद्धालु भक्तजनहरुको आवासको व्यवस्था महायज्ञ परिसरमा नै मिलाइएको छ, जलपान र भोजनको लागि आवश्यक पूर्ण तयारी भइसकेको छ । सुरक्षा, सरसफाइ र यातायातको लागि पनि आवश्यक व्यवस्था मिलाइएको छ ।’
महायज्ञमा यस गुरुकुलबाट अध्ययन गरेका आचार्यहरुद्वारा १०८ श्रीमद्भागवत पाठपारायणका साथै भगवान् शिवजीको इक्षुरस (उखुको रस) द्वारा महारुद्राभिषेक गर्ने कार्यक्रम रहेको छ । यसका साथै चारै वेद, विभिन्न पुराणहरुको पाठ पारायण, शक्तिको आराधना र ब्रहगायत्रीद्वारा विधिपूर्वक लक्षहवन पनि गरिनेछ । पितृउद्धारका लागि छुट्टै अनुष्ठान र १०८ लाखबत्ती, विभिन्न अंगसहित धान्याचल, तुलादान आदि धार्मिक दृष्टिले ज्यादै महत्वपूर्ण मानिएका अनुष्ठानहरु सम्पन्न गरिनेछ । यसअघि यस्तो महायज्ञ २०६५ सालमा भएको थियो ।

ताजा अपडेट