चितवन २७ असार ।
राष्ट्रिय मानवअधिकार आयोगले चितवनमा मानवअधिकारको पछिल्लो अवस्थाको बारेमा सुझाब संकलन गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको आयोजनमा विभिन्न समुदाय, तह र तप्काका व्यक्तिहरुसंग अन्तरक्रिया तथा छलफल गरी सुझाव संकलन गरेको हो । विश्वव्यापी रुपमा मानवअधिकारको अवस्थाको बारेमा प्रतिवेदन तयार पार्नको लागि आवधिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको थियो । आयोगले देशका विभिन्न जिल्लामा यस्तै भेला आयोजना गरी मानवअधिकारको विषयमा सुझाब संकलन गर्दै आएको छ ।
शुक्रबार नारायणगढमा भएको कार्यक्रममा दर्जनौ सुझाब संकलन भएको राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक यज्ञप्रसाद अधिकारीले जानकारी दिनु भयो । ‘सबै समुदाय वर्गबाट सुझाब संकलन गरेका छौ ’ उहाले भन्नु भयो ‘अहिलेपनि संविधानले दिएको जस्तै अधिकार पाउन नसकेको सुझाबहरु संकलन भएका छन् ।’
सुझाब दिदै दलित समुदायको तर्फबाट सहदेव लकान्द्रीले कानुनले निषेध गरेपनि समुदायमा कतिपय विभेदहरु कायम भएको जानकारी दिनु भयो । राज्य सत्ता र सामाजिक सत्ताले गर्दा मानवअधिकार उपयोग गर्न कठिन भएको उहाको भनाइ थियो । छुवाछुतको अवस्था अझैपनि कायम रहेको भन्दै यसलाई निर्मुल पार्नको लागि कागजमा मात्र होइन व्यवहारमा परिवर्तन हुनु जरुरी रहेको बताउनु भयो ।
सुझाब दिदै प्राध्यापक हरिहर पोखरेलले मानवअधिकार हनन् समाजबाट मात्र नभइ राज्यबाटपनि हुने गरेको बताउनु भयो । सरकारले ल्याउने विभिन्न विद्ययकहरुमा स्वतन्त्र अभिव्यक्ति कुष्ठित पार्ने व्यवस्था ल्याउन लागेको भन्दै यस्ता व्यवस्थाले अधिकार हनन् हुने ध्यानाकर्षण गराउनु भयो ।
चितवन जिल्ला अदालत बार एशोसियसनका उपाध्यक्ष हरि मैनालीले गरिब मुलुकमा मानवअधिकार हनन्का विषय धेरै हुने गरेको भन्दै कडाइका साथ पालना गर्नको लागि राज्य जिम्मेबार हुनु पर्ने सुझाब दिनु भयो । उहाले कानुन कार्यान्वयनको पक्ष बलियो भएमा यस्ता अधिकारक हनन्का घटना कम हुने सुझाब दिनु भयो ।
राष्ट्रिय मानवअधिकार आयोगका परियोजना निर्देश प्रेम थापा, निर्देशक मुरारी खरेललगायतले मानवअधिकारको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा महिलाअधिकारकर्मी, कानुन व्यवसायी, प्राध्यापक, विभिन्न वर्ग समुदाय, पत्रकार, सामाजिक अभियन्ताहरुको सहभागीता रहेको थियो ।


