चितवन, २६ असार । भारतबाट आँप लिएर नारायणगढको तरकारी तथा फलफूल बजारमा आएको ट्रकमा तोडफोड भएको छ ।
आँप लिएर आएका दुइवटा ट्रक मध्य एउटामा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको । तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले भन्नु भयो ‘स्कुटरमा आएका तीनजनाले बिहानको राति २ बजेको समयमा तोडफोड गरेका थिए ।’ तोडफोड गरी आगजनी गर्ने प्रयास गर्दा आगो नलागेपछि उनीहरु भागेका थिए । तोडफोडबाट यूपी ४१ एटी २६९१ नं.को ट्रकको अगाडिको सिसा फुटेको छ ।
तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटना स्थलमा वडा प्रहरी कार्यालय नारायणगढको टोलीले अवस्थाको बारेमा जानकारी लिएको थियो । सरकारले भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी भएको भन्दै केही दिन अगाडि कडाइ गरेको थियो । केही दिनदेखि भारतीय विषादी प्रयोग भएका तरकारी तथा फूलफूलको विरोधमा चितवनमा प्रदर्शन भएको थियो ।
भारतबाट अहिले आँप, अनार, कागती र केही मात्रामा गोलभेडा मात्र आउने गरेको व्यवसायीले जानकारी दिएको छ । तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष धितालले भन्नु भयो अहिले ‘आँपको माग दैनिक ३५ टन भएपनि भारतबाट २० टन मात्र आउने गरेको छ ।’ स्वदेशी आपको उत्पादन कम भएको कारण माग अनुसार स्वदेशी उत्पादनले नपुग्ने उहाँले जानकारी दिनु भयो । अहिले दैनिक ५ टनको हाराहारीमा स्वदेशी आप बजारमा आउने गरेको छ ।
तरकारीका धेरै सामग्री, केरा स्वदेवी उत्पादनले मात्र नारायणगढको बजारमा आएको उहाले जानकारी दिनु भयो । भारतीय उत्पादन नेपालमा आउन नदिनै भन्दै विभिन्न क्षेत्रबाट हुने गरेको हल्लाको कारण अहिले प्रभावित भएको धितालले जानकारी दिनु भयो ।


