आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्ड भिड्ने

काठमाडौं, २४ असार :

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्ड भिड्नेछन् ।

इङ्ल्याण्डको म्यानचेष्टरमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । ओल्ड ट्राफोर्ड मैदानमा हुने खेल जित्दै फाइनलमा पुग्ने दुबै टोलीको लक्ष्य छ । लिग चरणमा यी दुई टोलीबीचको खेल वर्षाले स्थगित भएको थियो । विश्वकप इतिहासमा भारत र न्यूजिल्याण्ड पहिलो पटक सेमिफाइनलमा खेल्न लागेका हुन् ।

दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा भारत बलियो देखिएको छ । पाँच भेटमा भारतले ३ खेल जितेको छ । न्यूजिल्याण्डले १ खेल जितेको छ भने एक खेल नतिजाविहीन बनेको थियो । जारी विश्वकपमा भारतले ९ खेलमा ७ जित हात पार्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा गरेको थियो ।

न्यूजिल्याण्डले समान ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा ठाउँ बनाएको थियो । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भोलि अस्ट्रेलियाले आयोजक इङ्ल्याण्डसँग खेल्नेछ ।

शेयर गरौ

ताजा अपडेट