चार देशका लागि राजदुत अनुमोदन

काठमाडौ  २४ असार । संसदीय विशेष सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको  सोमबार सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा वंशीधर मिश्र, कतारका लागि डा नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावाफुटी शेर्पालाई अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चार जना राजदूतको सुनुवाइ भएको र उहाँहरुको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि नाम सर्वसम्मतिले अनुमोदन भएको सञ्चारकर्मीलाई जानकारी दिए । परराष्ट्र मन्त्रालयको पत्रबमोजिम नेपालको संविधानको धारा, २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि पठाइएकामा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली–२०७५ को नियम २५ र २६ तथा समितिको कार्यविधि–२०७५ बमोजिम चार राजदूतको सुनुवाइपछि नाम अनुमोदित गरेको हो ।
मन्त्रिपरिषद्को गत जेठ २३ गते भएको बैठकले चार जनालाई प्रस्तावित राजदूतका लागि सिफारिस गरेको थियो । सरकारले राजदूतका लागि सिफारिस गरेका चारै जना राजदूतको आजै सुनुवाइ भएको थियो । सम्बन्धित देशका लागि प्रस्ताविज राजदूतले समितिसमक्ष आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । उनीहरुले कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाई, लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन तथा श्रमिकका समस्या समाधानतर्फ योजनाबद्ध कार्य अघि बढाउने योजना सुनाएका थिए ।
समितिका सदस्य सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, पार्वत गुरुङ, निरुदेवी पाललगायतले प्रस्तावित राजदूतलाई राजदूत बनेपछि गर्ने कामका बारेमा प्रश्न गरेका थिए । राजदूतमा अनुमोदन भएकामध्ये बङ्गलादेशका लागि राजदूत डा मिश्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हुन । उनी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भइसकेका छन् । कतारका लागि राजदूत अनुमोदित हुनुभएका डा भारद्वाज पुराना कम्युनिष्ट नेता हुन । उनले तत्कालीन झापा विद्रोहमा सक्रिय भई १२ वर्ष जेल जीवन बिताइसकेका छन् ।  अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाल नेपाल टेलिभिजनका पूर्वअध्यक्ष र नेपाल जेसिसका केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । अनुसन्धान, तालीममा लामो अनुभव छ । त्यसैगरी स्पेनको राजदूतमा अनुमोदन भएका दावाफुटी शेर्पा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाकी छोरी हुन् ।

शेयर गरौ

ताजा अपडेट