काठमाडौं, २४ असार : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले तरकारीमा विषादी परीक्षणको बिषयमा भारतीय दूताबासले लेखेको पत्र बारेमा अनभिज्ञता प्रकट समेत गरेनन्, सांसदहरुलाई गलत हल्लाको पछि नलाग्न समेत निर्देशन दिए ।
संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दवावका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको स्पष्ट पारे । ओली भने,‘भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ । कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन ।’ तर, काठमाडौंस्थित भारतीय दुतावासले पत्र लेखेको सोमबार सार्वजनिक भएको छ ।
दूताबासले आवश्यक सूचना तथा कागजात सहित औचित्य पुष्टि गर्न चुनौती दिएको छ । भनेकाे छ, ‘व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि कुनै तत्व जिम्मेवार भए आवश्यक सूचना तथा कागजात सहित औचित्य पुष्टि गर्नका लागि राजदूतावास सम्मानित मन्त्रालयलाई आग्रह गर्दछ ।’
भारतीय दूताबासको उक्तपत्र पछि नेपाल सरकार मन्त्रिपरिषद् बैठकले भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण रोक्ने निर्णय गरेको खुलेको हो । नेपालमा फलफूल र तरकारी बेच्न नपाएको भन्दै भारतीय व्यापारीहरुले दूतावासमा गुनासो गरेपछि भारतीय दूतावासले परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारलाई पत्र काटेको हो ।
गत जेठ १० गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई असार २ गते राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याएको थियो ।
यो सँगै भारतीय व्यपारीहरुले भारतीय दूताबासमा गुनासो लगेपछि भारतीय दूताबासले २९ जूनमा निर्देशनको शैलीमा लिखित पत्र पठाएर तिरकारी र फलफूलको परीक्षणसम्बन्धी निर्णयमाथि पुनर्विचार गर्नका लागि भनेको थियो । भारतीय दूताबासको यो पत्रपछि गत विहीबारको बसेको मन्त्रीपरिषद् बैठकबाट सरकार पछि हटेको थियो ।


