चितवन २३ असार । चितवनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश ३ का स्वास्थ्य, शिक्षा तथा कृषि समितिका सभापति घनश्याम दाहालले खेलको उद्घाटन गर्नु भयो । भरतपुर महानगरपालिकाले स्थानीय तहस्तरीय प्रतियोगिता नगराउँदा महानगरभित्रका एक सय १० वटा विद्यालय प्रतियोगिता खेल्नबाट बञ्चित भएका छन् । सो प्रतियोगिताको उद्घाटन सत्रमा दाहालले विद्यालय स्तरबाट नै खेलकुदको विकास हुनुपर्नेमा जोड दिनु भएको छ । खेलकुदको विकासका लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको उल्लेख गर्दै दाहालले खेलकुदले खेलाडीलाई अनुशासित, राष्ट्रप्रेमी, लगनशील बनाउने बताउनु भयो ।
प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले राज्यले खेलकुदमा पर्याप्त लगानी गर्नुपर्ने बताउनु भयो । सानै कक्षादेखि खेलकुदमा रुचि राख्ने विद्यार्थीलाई खेल्ने वातावरण सिर्जना गराउनु राज्यको समेत दायित्व भएको डल्लाकोटीको भनाइ छ ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले खेलकुदले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई नै चिनाउने बताउनु भयो । जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले सञ्चालन गरेको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामा, भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीलगायतले मन्तव्य राख्नु भएको थियो ।
प्रतियोगिता अन्तर्गत आज एथलेटिक्स तर्फ छात्र र छात्राको १५ सय मिटर दौड, चार सय मिटर दौड, एक सय मिटर दौड, ज्याबलिङ थ्रो, लङ जम्प र सर्टपुट तथा भलिबल प्रतियोगिता सकिएको छ । बाँकी प्रतियोगिताहरु भोलि हुने जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिनु भयो ।
यसै बीच खेलकुदका समाचार लेखेर सहयोग गरेको भन्दै जिल्ला खेलकुद विकास समिति चितवनले पत्रकार आनन्द पोखरेललाई सम्मान गरेको छ ।


