काठमाडौं , असार २३।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आइतबार निधन भएका नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
नेता अधिकारीलाई सोमबार कुपन्डोलस्थित सो पार्टीको कार्यालय पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
गत पुस २७ गते चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भएका अधिकारीलाई फोक्सोको क्यान्सर भएको थियो । केमो लगायतका उपचार भएपछि थप उपचारका लागि उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो ।
केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा लगिएको पारिवारले जनाएको छ ।
विसं २०११ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनुभएको थियो । माओवादी पार्टी विभाजन आएसँगै अधिकारी मोहन वैद्य नेतृत्वको पार्टीमा लाग्नुभएको थियो ।
अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित हुनुहुन्छ । २०४८ सालमा गोरखामा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद उम्मेदवार बन्नुभएका अधिकारी लोकप्रिय मत ल्याएपनि काँग्रेस उम्मेदवारसँग पराजित हुनुभएको थियो ।
माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लाग्नुभएका उहाँलाई अध्यक्ष प्रचण्डले अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।


