काठमाडौ २३ असार । नेपाली टेलिभिजन च्यानलमध्ये नेपाल टेलिभिजन दर्शकको सर्वाधिक रोजाइको रहेको एक अध्ययनले देखाएको छ ।
सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले हालै गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन मुलुककै लोकप्रिय टेलिभिजनका रुपमा स्थापित भएको पाइएको हो । ‘नेपाली मिडिया सर्भे २०१९’ ले नेपालमा ६० प्रतिशत टेलिभिजनका दर्शकमध्ये नेपाल टेलिभिजन हेर्ने दर्शकको संख्या २९ प्रतिशत छ । संस्थाले सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी ४२ जिल्लाका ४ हजार १२९ घरधुरीमा मिडिया सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणले ६० प्रतिशत सर्वसाधरणले टेलिभिजन हेर्ने र बाँकी ४० प्रतिशतले नहेर्ने तथ्य पत्ता लगाएको छ । यसरी नेपाल टेलिभिजन हेर्नेमध्ये ८० प्रतिशतले समाचार हेर्छन् । त्यसमा पनि ८७ प्रतिशतले राति ८ बजेको समाचार हेर्ने गरेका छन् । अध्ययनअनुसार विशेषगरी हास्य टेलिशृंखला ‘मेरी बास्सै’ र ‘भद्रगोल’ दर्शकले अत्यधिक रुचाएको पाइएको छ ।
कथा नेपाल कम्पनीको प्रचार गर्ने उद्देश्यले सञ्चालित जनतासँग प्रधानमन्त्री भन्ने कार्यक्रम भने दर्शकको रूचीमा परेको देखिएन । त्यसैगरी टेलिभिजन हेर्ने संख्यामध्ये ८० प्रतिशतले नेपाली र २० प्रतिशतले विदेशी च्यानल हेर्ने गरेका छन् । नेपाली च्यानल हेर्नेमा नेपाल टेलिभिजन बढी हेर्ने गरेको पाइएको छ ।
टेलिभिजन हेर्ने कुल संख्यामध्ये २९ प्रतिशतले नेपाल टेलिभिजन हेर्न रुचाएको सेयरकास्टका मधु आचार्यले बताए । अध्ययनको प्रारम्भिक तथ्य प्रस्तुत गर्दै उनले भने, ‘हाम्रो अध्ययनले नेपाल टेलिभिजन जनतामाझ लोकप्रिय भएको देखाएको छ र विदेशी च्यानलको तुलनामा नेपाली च्यानल सर्वसाधरणले बढी हेर्ने गरेको पाइएको छ ।’
नेपाल टेलिभिजनलगायत अन्य नेपाली च्यानलले आफ्नो पहुँच सर्वसाधारणमाझ पुर्याउन समाचार एवं समाचारमूलक तथा मनोरञ्जनात्मक सामग्रीको उत्पादन तथा प्रसारणमा जोड दिँदै प्राविधिक पक्षलाई सुधार गर्न अध्ययनले सुझाव दिएको छ ।
अध्ययनकर्ता भूमि चापागाईंले अध्ययनले नेपालमा सबैभन्दा बढी हेरिने टेलिभिजन नेपाल टेलिभिजन रहेको देखाएको बताए । विशेष गरी नेपाल टेलिभिजनको समाचारलाई धेरै दर्शकले मन पराएका तथा प्रदेश २ बाहेक अरू सबै प्रदेशमा नेपाल टेलिभिजन लोकप्रिय रहेको उनको भनाइ छ ।
नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले टेलिभिजनमा सर्वसाधरणको पहुँच बढ्नु र टेलिभिजनहरुमध्ये नम्बर १ मा दर्शकको रोजाइमा पर्नु सुखद रहेको बताए । अध्ययनले प्रसारणमा प्रयोग हुने प्रविधिको सुधारका साथै कार्यक्रम उत्पादनमा गुणस्तर बढाउन तथा टेलिभिजनको व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ ।
विश्वका १४५ भन्दा बढी मुलुकमा नेपाल टेलिभिजनको पहुँच विस्तार भइसकेको छ । नेपाल टेलिभिजन टेरेस्ट्रियल, स्याटेलाइट र इन्टरनेट तीनवटै माध्यमबाट प्रसारण हुन्छ । -रासस


