काठमाण्डौ २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।
संघीय संसद भवन नया बानेश्वरमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसदीय समितिले यस्ता आदेश दिनुभन्दा पहिला अलि सोच्नुपर्ने तर्क समेत गरे ।
बैठकमा ओलीले सरकार र पाटीविरूद्धमा सार्वजनिक रूपमा नबोल्न सांसदहरूलाई निर्देशन समेत दिए । पार्टी र सरकारका कुनै गुनासा भए पार्टीभित्र र संसदीय दलमा राख्न समेत ओलीले सांसदहरूलाई सचेत गराएको एक नेकपा सांसदले जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरूले पार्टी र सरकारका निर्णय सिपाहीले झै रक्षा गर्नुपर्ने तथा कार्यकर्ताहरूले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाव दिए । बैठकमा २२ जना सांसदहरुले पार्टीका आन्तरिक बिषय र सरकारका क्रियाकलापका बारेमा धारणा राखेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । दलको अर्को बैठकको मिति चाँडै तय हुने दलका प्रमुख सचेतक देवबहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै नेकपा बरिष्ठ नेता माधब कुमार नेपालले बैठकमा सांसदहरुले खुलेर पार्टी र सरकारको बारेमा धारणा राखेको भन्दै दलको बैठक निरन्तर रुपमा समय समयमा राख्नुपर्ने बताए । त्यस्तै नेकपा सांसद भानुभक्त ढकालले बिषादीका बारेमा केहि सांसदहरुले धारणा राखेको बताए।
बैठकमा सहभागी केही सांसदहरुले भने पार्टी सन्चालनको अहिलेको प्रक्रिया नै उचित नभएको भन्दै पार्टी र सरकारलाई प्रभावकारी बनाउन सन्चालन पद्धति परिवर्तन गर्न आग्रह गरेका थिए ।
यसअघि, सोमबार बसेको बैठकमा सांसदहरुले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए । सरकारका निर्णयहरु, संसदमा दर्ता भएका विधेयकहरु, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन भन्दै नेकपा संसदीय दलको बैठक बसेको हो ।


