काठमाडौं, २० असार ।
भारतको चर्को दबावका कारण सीमा नाकामा तरकारी र फलफूमा विषादी जाँच गरिने भन्ने निर्णयबाट सरकार पछि हटेको छ ।
तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने आफ्नै पूर्ववत आफ्नै निर्णय परिवर्तन गर्दै सरकार विषादी परीक्षण नगर्ने ठाउँमा फर्किएको छ । सीमा नाकामा फलफूल र तरकारीको विषादी जाँच गरेर मात्रै नेपाल भित्र्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिंदै आएको थियो ।
भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णणबाट पछि हटेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । तर हिजो सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दा उक्त निर्णय भने गोप्य राखेको स्रोतको दावी छ ।
पूर्व एमाले निकट ती मन्त्रीका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफूल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको भन्सार विभागका एक उच्च अधिकारीले जानकारी दिएका छन् । गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण शुरु भएको थियो । कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ भने नेपालबाट यही अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको मात्र तरकारी तथा फलफूल निर्यात भएको रेकर्ड छ ।
आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन आदेश परिमार्जन गरी जारी गरे पनि प्रयोगशालाको अभाव र भारतीय दूतावासको दबाबमा तत्काल बिषादी परीक्षणको निर्णय फिर्ता लिइएको हो ।
‘वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्बाट बिषादी परीक्षण गर्ने स्वीकृत भएको थियो ।
सोहीअनुसार राजपत्रमा पनि प्रकाशित भयो, त्यसपश्चात् सबैसग छलफल गरेर कृषि मन्त्रालयले पनि बिषादी परीक्षण शुरु ग-यो,’ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भने, ‘परीक्षण शुरु भएपछि हल्ला कहाँकहाँ चल्यो, के–के चल्यो थाहा भएन । बिहीबार फेरि वाणिज्यले पूर्वाधार नभएको–नपुगेको गर्न सकिएन । पूर्वाधार छिटो तयार गरौं भनेर मन्त्रिपरिषद्मा अर्को प्रस्ताव गरेपश्चात् खुलाउने प्रस्ताव पारित भयो ।’
प्लान्ट क्वारेन्टाइन एवं बिषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र करिब २९ ग्रुपका बिषादी प्रयोग भइरहेका छन् । फलफूल तथा तरकारीमा दर्जन ग्रुपका बिषादी प्रयोग गरिन्छ । तर, तीमध्ये नेपाली प्रयोगशालाबाट दुई ग्रुप (काब्रामाइट र अर्गानोफोस्पेट)को मात्रै परीक्षण हुन्छ । ती बाहेक अन्य ग्रुपको बिषादी स्वदेशी प्रयोगशालाले एकिन गर्न सक्दैन । बिषादी परीक्षण बाहेक बिषादीको अवशेष मात्रा पनि निर्धारण गरिएको छैन ।
असार २ गते राजपत्रमा प्रकाशित सूचित आदेशमा ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक बिषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र गर्नु पर्नेछ’ भन्ने वाक्यांश उल्लेख छ । जसअनुसार व्यवसायीले तरकारी तथा फलफूल आयात गर्दा अनिवार्य परीक्षण गर्नुपर्छ ।


