रत्ननगर १८ असार ।
रत्ननगर नगरपालिकाले आइपिएम खेति प्रणाली प्रति आर्कषित गराउन नगरका किसानहरुलाई तालिम दिएको छ । खाद्यवालीमा विषादी न्यूनीकरणको लागि नगरपालिकाले किसानहरुलाई १३ हप्ते लामो आईपिएम कृषक पाठशाला सञ्चालन गरी तालिम दिएको हो । तालिममा वडा नं ३,१२ र १३ का ८५ जना किसानहरुको सहभागिता रहेको थियो ।
तालिममा आइपिएम प्रविधिबाट तरकारी तथा अन्नबाली उत्पादन गर्ने तरिका सिकाइएको कृषि शाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिए । किसानहरुले जग्गा भाडामा लिएर प्रयोगात्मक सिकाई सिकाइएको पौडेलले बताए । तालिममा सहभागीहरुलाई जैविक विषादी र मल बनाउन सिकाएर प्रयोग समेत गरिएको प्रशिक्षक टोमराज भट्टराईले जानकारी दिए ।
२०७५ चैत २३ गतेबाट सुरु भएको आइपिएम कृषक पाठशाला बुधवार सकिएको छ । समापन कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन । सो अबसरमा उनले जैविक विषादी प्रयोग नगरी उत्पादन गरेको बस्तुले बजार बजार नपाउने भएका कारण प्राङ्गारिक उत्पादनले गति दिन नसकेको बताइन ।
कार्यक्रममा सहभागीहरु प्रमिता खनाल,मेघनाथ न्यौपाने र शिवकुमारी थापाले तालिमका अनुभव सुनाएका थिए । पारिजात आइपिएम कृषक पाठशालाकी अध्यक्ष सीता शर्मा चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुबराज पोखरेल,कृषि शाखा प्रमुख शालिग्राम पौडेल,वडा नं १३ की वडा सदस्य संगिता भण्डारी,शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पार्वती न्यौपाने,प्रशिक्षक जीवन पौडेल लगायतले मन्तव्य राखेका थिए ।


