काठमाडौं, १७ असार :
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
पूर्व सांसद मञ्च नेपालको १९ औँ साधारण सभालाई मंगलबार काठमाण्डौमा सम्बोधन गर्दे नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति अवकासलगायत क्रियाकलापका कारण नागरिकमा असन्तुष्टी बढ्दै गएको बताउनुभएको हो ।
न्यूनतम पूर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उहाँले गर्नुभयो । व्यवहारमा पुष्टी नहुने सिद्धान्त सही सिद्धान्त नहुने भन्दै उहाँले परिर्वतनको आवश्यकता औँल्याउनुभयो ।
नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भमा उहाँले आफ्नो देशका लागि हुने लाभ हानीको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।
केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले देशको सर्वोपरी हितलाई ध्यानमा राखि निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


