अमिर रामदाम,
तानसेन (पाल्पा), १५ असार ।
पाल्पाको तानसेनमा दुई दिनसम्म चलेको दलित समुदायको पत्रकारहरूको राष्ट्रिय सम्मेलन आज १५ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
घोषणापत्रमा दलित समुदायको पत्रकारहरूको मुख्य नेतृत्वमा संचालित संचार गृहहरूलाई कर छुट तथा अनुदानमा संचार सामाग्री प्रदान गर्ने व्यवस्थालाई पहल गर्ने निर्णय गरेको छ । सरकारी संचारमाध्यमहरुमा नीतिगत, व्यवस्थापकीय र समाचार कक्षमा दलितहरूको अनिवार्य सहभागिता सुनिश्चितताको लागि पहल गर्ने निर्णय गरेको छ ।
पत्रकारिता विषयमा अध्यापन गरिरहेका नेपाल प्रेश इन्स्टिच्युट तथा उच्च क्याम्पसहरूमा पत्रकारिता विषयमा छात्रवृत्ति प्रदान गर्न पहल गर्ने निर्णय गरेको छ । हरेक वर्ष दलित पत्रकारहरू राष्ट्रिय सम्मेलन गर्ने निर्णय साथै विविध अन्य विषयहरुमा निर्णय गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रेम विश्वकर्माले मानिस शिक्षित भएपनि व्यवहारमा लागू नभएसम्म दलित वीचको विभेद अन्त्य नहुने बताएका छन् । त्यस्तै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एवं दलित पत्रकारहरू राष्ट्रिय सम्मेलनको संयोजक मधु शाहीले कार्यक्रम भव्यताका साथ सफत पार्न सहयोग गर्नु हुने सबैमा कृतज्ञता ज्ञापन गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सिर्जना अर्यालले अहिले पत्रकार महासंघ तेस्रो चरणको आन्दोलनमा छ यो वावजुद पनि यस्तो भव्य र सभ्य कार्यक्रम गर्न सहयोग गर्नु भएकोमा आतिथ्यता शाखा पाल्पा प्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अध्यक्ष राजेश कुमार अर्यालले आन्दोलनले मात्र दलित समुदायको आवाजहरू नउठ्ने भएकाले अदालती ढोका ढकढक्याएर उजुरी दिएर मात्र समस्या समधान हुन सक्ने जिकिर गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य प्रकाश चन्द्र परियारले समाजिक न्याय सहित समतामूलक समाजको परिकल्पना आवश्यकता रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति दलित समितिको आयोजनामा र पाल्पा शाखाको आतिथ्यतामा भएको दलित समुदायको पत्रकारहरूको राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापकीय भूमिका निर्वाह गरेकोमा पाल्पा शाखा अध्यक्ष राजेश कुमार अर्याललाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा दलित समुदायको पत्रकारहरूको राष्ट्रिय सम्मेलनमा ७७ जिल्लाबाट १ सय ५० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
यसै बिच नेपाल पत्रकार महासंघ केन्द्रीय समिति दलित समितिको आयोजनामा र नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आतिथ्यतामा पाल्पाको तानसेनमा आयोजना भएको दलित समुदायको पत्रकारहरूको राष्ट्रिय सम्मलेनमा सहभागी भएका पत्रकारहरूलाई पाल्पाली दलित नागरिक समाजले धन्यवाद ज्ञापन सहित विदाई गरेको छ ।


