चितवन समाचार डटकम, १५ असार ।
चोरी मोटरसाईकललाई खोलफिटिङ गरी बजारमा बिक्रि बितरण गर्ने मोटरसाईकल वर्कसप भरतपुरमा फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नं.२० शारदानगर रानीपोखरी स्थित रोहित मोटर साईकल वर्कशपमा नेपाल तथा भारतबाट चोरीको मोटर साईकलहरु ल्याई काटी अल्टी पल्टी गरी बिक्री बितरण गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले वर्कसप सञ्चालक सहित मोटर साईकल खोलजोड गर्ने समुहका चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं.२१ बस्ने बर्ष २१ को रोहित श्रेष्ठ,
बारा कलैया न.पा.वडा नं.८ बस्ने बर्ष १९ को कृष्ण शाह , कलैया न.पा.वडा नं.३ बस्ने बर्ष १८ को महाविर चौधरी र भारतीय नागरीक बर्ष १४ को राजा कुमार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
हिजो पक्राउ गरी प्रहरी कार्यालय चितवन ल्याइएका उनीहरुमााथि थप अनुसन्धान चलिरहेको कोईरालाले जानकारी दिनुभयो ।
वर्कशपमा गई खानतलासी गरी शंकास्फद अवस्थामा रहेका मोटर साईकल तथा पाटपुर्जाहरु बरामद गरी संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ गरिएका व्यक्तिहरु उपर थप अनुसन्धान कार्य भई रहेको छ ।
बरामद सामानमाा बिभिन्न कम्पनीको मोटर साईकल २६ थान, ईन्जिन नभएको च्यासिसहरु ८ थान, च्यासिस नभएको ईन्जिनको ढिक्काहरु ६ थान , ईन्जिन नं.देखिएको ईन्जिनका कभरहरु ९ थान , ग्रान्डर लगाई नं.मेटाएको च्यासिस ३ थान, ग्रान्डर लगाई नं.मेटाएको ईन्जिन २ थान , च्यासिस तथा ईन्जिन नं.मेटाउन प्रयोग गर्ने ग्रान्डर १ थान , बिभिन्न व्यक्तिको नाममा रहेको मो.सा.को बिलबुक ५३ थान, सादा नं.प्लेटहरु १ बोरा रहेको प्रहरीले जनाएको छ ।


