चितवन १४ असार ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर चितवनको शक्तिखोरमा रहेको नेपाली सेनाको सिंहनाथ गण कमाण्डो हेड क्वाटरमा एकहजार ५सय ५८ वटा फलफुलका विरुवा रोपिएको छ ।
नेपाली सेनाका प्रधान सेनापति पूर्र्णचन्द्र थापाले कमाण्डोको हेड क्वाटरमा आज वृक्षारोपण गरेर सुरुवात गर्नु भएको थियो । कमाण्डो परिसर भित्र आंप, लिची, सजिवन, अम्बा, अमला, कागती, चिउरी, सरिफा रुखकटहर, एभोकाडोलगायत फलफूल रोपिएको गणपति प्रमुख सेनानी प्रेम हमालले चितवन समाचार डटकमलाई जानकारी दिनु भयो ।
नेपाल सरकारले चालेको एक नेपाली एक फलफुल बिरुवा अभियानलाई सफल बनाउन नेपाली सेनाका प्रधानसेनापतिले हरियाली बनाउन निर्देशन दिनु भएको थियो । कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डे, सैनिक हेडक्वाटरका उच्च पदस्थ रथीहरु, प्रधानमन्त्री कार्यालयका सहसचिव तथा नेपाल सरकारका एक नेपाली एक फलफुल बिरुवा कार्यक्रमका संयोजक लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरि कार्यक्रममा प्रदेश सभा सदस्य केशब स्थापित, कालिका नगरपालिका तथा रत्ननगरपालिकाका नगर प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायत वृक्षारोपणमा सहभागी हुनु भएको थियो । गणमा विश्व वातावरण दिवसको अवसर पारेर दुइहजार एकसय ४३ वटा विभिन्न जातका फलफूलका विरुवा रोपिएको थियो ।


