अमिर रामदाम,
पाल्पा (तानसेन), १४ असार ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले ठूलो संघर्षबाट संविधान जारी गरेको बताउँदै संविधान पूर्ण रूपमा कार्यान्वयन भएमात्र सबैका अधिकार सुनिश्चित हुने बताए।लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिन र संविधान कार्यान्वयन हुन नदिन विभिन्न तहबाट चलखेल भइरहेको जिकिर गरे ।
पाल्पामा सुरू भएको दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रेस स्वतन्त्रता बचाउनु पत्रकारको धर्म भएको बताएका छन्। लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै विषय भएको भन्दै उनले प्रेस स्वतन्त्रता बचाउन सके लोकतन्त्र र गणतन्त्र पनि आफैं बच्ने बताए। उनले सबै समुदायको अधिकारलाई सुनिश्चत गरेको र पुर्ण प्रेस स्वतन्त्रताको अधिकार संविधानमै भएकाले यसको कार्यान्वनमा जोड दिए ।
उनले नेपालीहरूमा सामूहिक भावनाको विकास हुँदै गएको र सबैले सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई संविधानले प्रत्याभूति गरेको बताए। संविधानले सबै जातजाति, भाषाभाषी, लिंग, धर्म, वर्ण समुदायको अधिकारलाई सुनिश्चित गरेकोले संविधानको कार्यान्वयनको लागि नागरिकले आवाज उठाउनु पर्ने बताए।
संविधानमा जातीय छुवाछूत र भेदभाव अन्त्य भएको बताइरहँदा अझै पनि समाजमा भेदभाव अन्त्य नभएकोले यो सम्मेलनबाट भेदभाव अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सञ्चार विधेयक संसदबाट फिर्ता हुनैपर्ने भन्दै प्रेस स्वतन्त्रता बिनाको लोकतन्त्र सफल नहुने बताए।संसदमा दर्ता भएको अमसञ्चार विद्ययकले प्रेस स्वतन्त्रता र लोकतन्त्र खतरामा पर्ने भएकाले यसलाई सच्याउन सरकारलाई अनुरोध गरेका छन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले विभेद सधैंका लागि अन्त्य गर्नुपर्ने बताए। यस्तै, प्रेस युनियनका सभापति बद्री सिग्देलले प्रेसलाई मुख थुन्ने गरी सरकारले बन्देज गराउन खोजेको भन्दै आपत्ति जनाए।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले दलित समुदायको सवाललाई मिडियाले प्राथमिकता दिएर राज्यको ध्यान केन्द्रीत गर्ने काममा लाग्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति दलित समितिको आयोजनामा र नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आतिथ्यतामा दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका ७७ जिल्लाबाट करिब १ सय ५० जना दलित पत्रकारहरूको सहभागिता रहेको छ। भेलाबाट दलित पत्रकारहरूको मुद्दाका विषयमा पाल्पा घोषणापत्र जारी हुने बताइएको छ।


