धादिङ, १४ असार । बिहानी परेको पानीसँगै लेदो बगेर पृथ्वी राजमार्गको बैरेनीमा बाटो अवरुद्ध भएको छ ।
धादिङको बैरेनी बजार नजिकै सडकमा लेदो जमेपछि शनिबार बिहानैदेखि व्यस्त पृथ्वी राजमार्ग अवरुद्ध बनेको हो ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको स्थानीयले जानकारी दिएका छन् । जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेको छ । लेदो हटाउने प्रयास भैरहेको बैरेनीस्थित प्रहरी चौकी इन्चार्ज सई जनक बस्नेतले बताए ।
बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा राजधानी जाँदै गरेका र राजधानी हुँदै पूर्व, पश्चिम हिंडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन् । गत शुक्रबार मात्र पनि यो राजमार्गमा यसरी नै लेदो जमिंदा राजमार्ग अवरुद्ध बनेको थियो । गएको शुक्रबार १३ घण्टा लगाएर सडकमा जमेको लेदो हटाइएको थियो ।


