चितवन समाचारडटकम, १३ माघ । मौसममा आएको खराबीको कारणले काठमाण्डौको त्रिभुवन विमान स्थल आज बिहानभरी अवरुद्ध हुदा भरतपुरका तीनवटा उडान प्रभावित भएको छ ।
विहान १० बजेदेखि १ बजेसम्म काठमाण्डौबाट भरतपुर आउने र जाने यति र वुद्ध एयरका उडानहरु अवरुद्ध भएका हुन् । मौसममा आएको खराबीले अबरुद्ध भएको विमान दिउसो एक बजेपछि पुन सञ्चालनमा आएको भरतपुर विमान स्थलका सूचिना अधिकारी दिपक विकले जानकारी दिनु भयो ।
विहान १० बजे वुद्धको पहिलो उडान थियो यो १ बजेपछि मात्र आएको वुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तवहादुर वस्नेतले बताउनु भयो । मौसममा सुधार आएपछि ती यात्रुलाई गन्तव्यमा पठाइएको उहाँको भनाइ छ ।
मौसममा सुधार आएपछि अहिले सामान्य अवस्थामा उडान अवतरण भइरहेको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सुले दृष्यता (भिजिबिलिटी) अत्यन्त कम भएका कारण बिहान करीब ४ घण्टा उडान प्रभावित भएको हो । मौसममा सुधार आएसँगै विमानस्थलमा अन्तर्राष्ट्रय र राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनु भयो ।
मौसम खराबीले बिहान विमानस्थलको भिजिबिलिटी १०० देखि २०० मिटर मात्र थियो । करीब ८ बजेको समयमा १६०० मिटर थियो । पुनः ९ बजे भिजिबिलिटी एक हजारमा झरेको थियो ।
अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृतिअनुरूप सानो जहाजलाई १६०० तथा ३२०० मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ ।
आन्तरिक उडानतर्फ साना जहाजका लागि १६०० भिजिबिलिटी चाहिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित २९ वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।