काठमाडौं, १४ असार :
इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई हराएको छ ।
यसअघि नै समूह चरणबाट बाहिरिने पक्का भइसकेको दक्षिण अफ्रिकाले गएराति भएको खेलमा श्रीलंकालाई ९ विकेटले हरायो । श्रीलंकाले दिएको २ सय ४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गर्यो । उसका लागि कप्तान फाफ डु प्लेसिस र हसिम अमलाले १ सय ७५ रनको साझेदारी गरे ।
प्लेसिसले अविजित ९६ रन बनाउँदा अमलाले ८० रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३ रन बनाएको थियो । श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका क्रिस मोरिस र ड्वेन प्रिटोरियोसले ३/३ विकेट लिए । जितसँगै दक्षिण अफ्रिकाले ८ खेलबाट ५ अंक जोडेको छ ।
श्रीलंकाको भने ७ खेलबाट ६ अंक छ । यो हारसँगै श्रीलंकाको शीर्ष चारमा रहँदै विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । विश्वकप क्रिकेटमा आज दुई खेल हुनेछन् । आज पाकिस्तानले अफगानिस्तानसँग खेल्दा अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दैछन् ।


