काठमाडौं, १२ असार ।
रोजगार अनुमति प्रणाली इपिएस शाखाले भोलि (शुक्रबार) कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक गर्दैछ ।
गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक हुने इपिएस शाखाले जनाएको छ । यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये ८४ हजार २ सय १५ जनाले मात्र भाषा परीक्षा दिएका छन् ।
यसमध्ये ८ हजार १४१ जना अनुपस्थित भए भने अमर्या्दित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ ।
कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने उल्लेख गरिएको इपिएस कोरिया शाखाका सूचना अधिकारी सोभाकर भण्डारीले जानकारी दिए । यस वर्षको परीक्षामा १० हजार परीक्षार्थी पास हुने अनुमान शाखाले गरेको छ ।
‘कोरियाले कामदार लैजाने कोटा अनुसार नै परीक्षार्थीहरू छनोट गरिन्छ, १० हजारको हाराहारिमा नै परीक्षार्थी उत्तीर्ण गरिन्छ,’ सूचना अधिकारी भण्डारीले भने । कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।
हालसम्म कोरियामा ५८ हजार बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन् । नेपाली युवाहरूका लागि कोरिया निकै महत्वपूर्ण रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ । अघिल्लो वर्षको कोरियाली भाषा परीक्षामा ७४ हजार ८ सय ६६ सहभागी परीक्षार्थी मध्ये ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।
भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिने छ ।


