सभापति देउवा पार्टीको आन्तरिक राजनीतिमा सक्रियता बढाउदै  

काठमाडौं ११ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूइतर पक्षको चर्को दबाबपछि पार्टीको आन्तरिक राजनीतिमा सक्रियता बढाएका छन् ।

इतरपक्षले सभापतिले सिंगो पार्टीका लागि चिन्ता लिनेभन्दा पनि गुटका लागि मात्रै चिन्तित बन्ने गरेको आरोप लगाइरहेका बेला देउवाले पार्टीको जनजागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिलाई पार्टीको अवस्थाबारे छलफलका लागि डाकेका हुन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले बुधबार (आज) ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिसँग जागरण अभियान, अबको रणनीति र वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल डाकेका छन् ।
संस्थापनइतर पक्षका नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले जनजागरण अभियानप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पौडेलले जनजागरण घोषणालगत्तै एकलौटी ढंगले घोषणा गरिएको भन्दै आपत्ति जनाएका थिए भने सिटौलाले संगठनबिना नै पार्टीको जागरण चलाइएको भन्दै जनजागरणले दिनुपर्ने प्रतिफल दिन नसकेको बताउँदै आएका छन् ।
सभापति देउवाले पार्टीको केन्द्रीय समिति बैठक २२ असारका लागि डाकेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा भएको विवादपछि करिब तीन महिना यता कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।
सभापति देउवाले आगामी बैठकबाट पार्टीका रिक्त रहेका भ्रातृ संगठनलाई पूर्णता दिनसमेत चाहेका छन् । यस्तै, आगामी चैतबाट सकिने केन्द्रीय कार्यसमितिको म्यादका विषयमा पनि बैठकमा छलफल हुने देखिएको छ ।
सभापति देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आगामी केन्द्रीय समिति पार्टीको महाधिवेशनको कन्सेप्टमा प्रवेश गर्ने बताए ।
‘कहिले अर्ली महाधिवेशनको कुरा उठ्यो, कहिले विशेष महाधिवेशनका कुरा उठे, अब भने महाधिवेशनको कन्सेप्ट लगभग लगभग सुरु भयो,’ सभापति देउवानिकट केन्द्रीय सदस्य विश्वकर्माले राजधानीसँग भने ।
उनले आगामी केन्द्रीय समितिबाट महाधिवेशनको कन्सेप्टमा अघि बढ्दासमेत पुराना तह मर्ज भएर बनेका सबै संगठनको अधिवेशन सक्न एक वर्षभन्दा बढी समय लाग्ने बताए । त्यसपछि मात्रै केन्द्रीय महाधिवेशनतर्फ पार्टी अघि बढ्ने उनले जनाए ।

इतर पक्षका नेता प्रदीप पौडेल भने विधानमा भएको व्यवस्थाबाट नै पार्टीलाई महाधिवेशनमा लैजानुपर्ने बताउँछन् ।
‘विधानमा जे व्यवस्था छ त्यहीअनुसार महाधिवेशन गर्नुपर्छ, अब समय छैन भनेर म्याद थपेर समय लम्ब्याउने कुनै बहानालाई कार्यकर्ताले स्वीकार्न सक्दैनन्, अब केन्द्रले मात्रै सहमति गरेर हुँदैन,’ नेता पौडेलले भने ।
उनले विधानमा भएको संक्रमणकालीन व्यवस्थाअनुसार समेत पार्टीलाई महाधिवेशनमा लैजान सकिने जनाए । नेता पौडेलले पार्टीका सबै गतिविधि अब महाधिवेशन केन्द्रित हुन थालिसकेको समेत जनाए ।
सभापति देउवा भने रिक्त सबै संरचनाको भरपाई गरेर महाधिवेशनमा जाने पक्षमा देखिएको उनीनिकट स्रोत बताउँछ । त्यसका लागि आफू पक्षीय नेताहरूलाई उनले अघि सारेका छन् । तर, इतरपक्ष कुनै हालतमा म्याद थपको पक्षमा नजाने अडानमा देखिएको छ । संस्थापन पक्षले पेलेर अघि बढे रोक्ने पक्षमा इतरपक्ष देखिएको छ ।
सिटौला समूहले सोमबार राजधानीमा गरेको कार्यक्रममा सहभागी सो समूहका नेताहरूले केन्द्रीय समितिमा हुने अबको रणनीतिको संकेतसमेत गरिसकेका छन् । यो समाचार राजधानी दैैैैनिक बाट लियको हो

शेयर गरौ

ताजा अपडेट