चितवनका स्थानीय तहको बजेट कार्यक्रम सार्वजनिक (कुन तहले कती बजेट ल्याए हेर्नुहोस)

 

चितवन समाचार डटकम,
१० असार ।

चितवनको स्थानीय तहहरुले आउदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
जिल्लाका सातवटै स्थानीय तह मध्य ६ वटाले बजेट सार्वजनिक गरेको छ । मंगलबार भएको सार्वजनिक बजेटमा आफ्नो पालिकामा आकर्षक कार्यक्रमहरु ल्याएका छन् । आकासे पुल, आवास, एम्वलेन्स सेवा, रोजगारलगायतका आकर्षक कार्यक्रम ल्याएका छन् । जिल्लाका पालिकाहरुको बजेट विवरण ।

भरतपुर महानगरपालिकाको बजेट
भरतपुर महानगरपालिकाले मंगलबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । महानरको आउदो आर्थिक वर्षको लागि एकसय ९५ वटा विभिन्न योजनका सहितको नीति तथा कार्यक्रम महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा रंगशाला निर्माण, स्मार्ट सिटीको लागि पूर्वाधारलगायतका कार्यक्रमहरु रहेका छन् । कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले आर्थिक वर्ष २०७६ र ०७७ को लागि आय व्यय अनुमानित प्रस्तुत गर्नु भएको छ । महानगरको आउदो आबमा रु.३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
यसका लागि आन्तरिक आय ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ४२ करोड ५५ लाख ४६ हजार, केन्द्र तथा प्रदेश सरकार बाट ५३ करोड २५ लाख ७१ हजार, अन्यवाट रु १ करोड ५० लाख, जनसहभागिता बाट ३० करोड र बैंक मौज्दात ३० करोड रहने प्रक्षेपण गरिएको छ ।

पूर्वाधार विकास, रङ्गशाला निर्माण, सडक निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन आदिलाई नीति कार्यक्रममा प्राथमिकता दिईएको छ । चालु आर्थिक वर्षको पुरक समेत गरि ३ अर्व ७६ करोड ३ लाख ९४ हजार बजेटमा चालू शीर्षकमा असारको पहिलो हप्ता सम्म ६७.२ प्रतिशत र पुजिगत तर्फ ४५ प्रतिशत खर्च भएको छ ।
२०७६ आषाढ मसान्तसम्म संसोधित अनुमान राजश्व आम्दानीतर्फ जनसहभागिता तथा घरजग्गा रजिष्ट्रेशन शुल्क समेत गरी करिब रू ९३ करोड आम्दानी हुने देखिन्छ । खर्चतर्फ चालु खर्च करिब रू १ अर्ब ९८ करोड र पुँजिगत खर्चतर्फ रू १ अर्ब ३५ करोड हुने संशोधित अनुमान गरिएको छ ।

रत्ननगर नगरपालिका 
रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्व ५ करोड ३२ लाख रुपैया बरावरको वजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको मंगलवार सुरु भएको पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि १ अर्व ५ करोड वरावरको बजेट ल्याएको हो । नगर सभामा उपमेयर विमलादेवी दुवाडीले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि १ अर्व ५ करोडको बजेट ल्याउन लागेको बताउनु भयो । नेपाल सरकारबाट शशर्त अनुदान २८ करोड २० लाख, समानिकरण अनुदान १९ करोड १३ लाख, राजस्व वाँडफाँडमा ११ करोड ६९ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड १० लाख, शशर्त अनुदान ४ करोड ९६ लाख, राजस्व वाँडफाँडमा ३ करोड ३१ लाख,सामाजिक सुरक्षा २० करोड आम्दानी हुने अनुमान छ ।

त्यस्तै समपुरक अनुदान २ करोड, विषेश अनुदान २ करोड, सडक वोर्डबाट ८० लाख, प्रधानमन्त्री रोजगारी कार्यक्रमबाट ५० लाख गरी कुल १ अर्व ५ करोड रुपैयाको वजेट रहने छ । क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड २५ लाख, सामाजिक विकासमा १ करोड ९३ लाख, संस्थागत विकास तथा सुशासनमा ३७ लाख, वातावरण तथा विपद व्यवस्थापनमा ८७ लाख, पुर्वाधार विकासमा ८ करोड ६७ लाख रहेको उपमेयर विमला दुवाडीले जानकारी दिनु भयो ।

मेयर नारायण वनले प्रस्तुत गर्नुु भएको नीति तथा कार्यक्रममा विपन्न समुदायको भान्सामा सुधारिएको चुलो निर्माण गर्ने उल्लेख गरिएको छ । साथै नगरपालिकाले नगरवासीले अनुभूति गर्ने गरी टाँडी बजार र सौराहाचोकमा आकासे पुल र एक वडा एक पुस्तकालय निर्माण गरिने मेयर नारायण वनले बताउनु भयो । नीति तथा कार्यक्रममा पर्यटकीय पुर्वाधारका रूपमा सौराहा क्षेत्रमा आधुनिक पर्यटन वसपार्क, पर्यटन सुचना केन्द्रको निर्माण, “नगर प्रमुखसँग उद्यमशिलता विकास” कार्यक्रम संचालन गरिनेछ ।

खैरहनी नगरपालिका
चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६ र ७७ का लागि करिब साँढे ८२ करोडको बजेट ल्याएको छ ।

नगरपालिकाको मंगलबार सम्पन्न पाँचौ नगरसभाले आगामी आर्थिक वर्षका लागि ८२ करोड ६० लाख ५२ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । खैरहनी नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख सुनिता खरेल थपलियाले बजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ४३ करोड ७४ लाख १२ हजार र पुँजीगत खर्च ३८ करोड ८६ लाख ४० हजार रहेको छ । चालु खर्चमा सामाजिक सुरक्षा कार्यक्रमको १० करोड समेत समावेश गरिएको नगर उपप्रमुख थपलियाले बताउनु भयो ।

आगामी आर्थिक वर्षको बजेट आव २०७४÷७५ भन्दा ३४ प्रतिशत तथा चालु आवको संशोधित अनुमान भन्दा १२.२५ प्रतिशतले बढी रहेको छ । कुल बजेट मध्ये आन्तरिक आम्दानी ९ करोड २५ लाख २५ हजार, वित्तिय सामानिकरण सशर्त अनुदान २० करोड ९३ लाख ९२ हजार, वित्तीय समानिकरण निशर्त अनुदान १७ लाख ७० हजार १६ हजार, राजस्व बाँडफाँड १३ करोड ३२ लाख ७८ हजार, समपुरक कोष दुई करोड, सामाजिक सुरक्षा कार्यक्रम १० करोड, सडक बोर्ड नेपालबाट ४० लाख, अन्य आम्दानी एक करोड, संरक्षित पूँजी दुई करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम एक करोड, तराई मधेस समृद्धि कार्यक्रम एक करोड ५० लाख, संरक्षित वन रोयल्टी ४८ लाख ४१ हजार, लागत सहभागिता तीन करोड गरी कुल ८२ करोड ६० लाख ५२ हजार रुपैयाँ अनुमान गरिएको नगर उपप्रमुख थपलियाले जानकारी दिनु भयो ।

क्षेत्रगत रुपमा शिक्षामा १९.३८ प्रतिशत, स्वास्थ्यमा ३.४१ प्रतिशत, सामाजिक सुरक्षा कार्यक्रममा १२.११ प्रतिशत, आर्थिक विकासमा ५.७२ प्रतिशत, सामाजिक विकासमा ४.६५ प्रतिशत, पूर्वाधारमा ४०.२७ प्रतिशत, वन वातावरण सरसफाइ तथा विपद व्यवस्थापनमा १.८६ प्रतिशत, विभिन्न कोष तथा म्याचिङ फण्ड ४.६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

माडी नगरपालिका
माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि ९२ करोड ७० लाख ४८ हजार रुपैंया बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आगामी आ.व.को नीति तथा कार्यक्रम पेश गर्दै माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोले पुँजिगत खर्चतर्फ ७३ करोड २० लाख ४८ हजार तथा चालुतर्फ १९ करोड ५० लाख रुपैंयाको बजेट सार्वजनिक गर्नुभयो ।

जारी आर्थिक वर्ष २०७५र०७६ मा चालु तर्फ १४ करोड २७ लाख ३५ हजार र पुँजीगत तर्फ ७६ करोड ११ लाख गरी कूल ९० करोड ३८ लाख ३५ हजार रुपैंया बजेट रहेको छ । आगामी आर्थिक वर्षको बजेटको कूल आकारमा खासै बढोत्तरी भने देखिँदैन तर नगरपालिकाको दैनिक, प्रशासनिक र तलबभत्तामा खर्च हुने चालु शीर्षकमा करीब ५ करोड २२ लाख रुपैंया बजेट बढाइएको छ ।

विकास निर्माणका कामहरु सञ्चालन हुने पुँजीगत शीर्षकमा २ करोड ९१ लाख रुपैंया मात्र बजेट बढ्ने देखिन्छ । नगरसभाले पारित गरे पश्चात आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ आर्थिक बर्षबाट कार्यान्वयनमा आउन सक्नेछ ।

राप्ती नगरपालिका
चितवनको राप्ती नगरपालिकाले ९४ करोड २४ लाख ५० हजार को बजेट सार्वजनिक गरेको छ ।
राप्ती नगरसभाले आर्थिक वर्ष २०७६ र ७७ को लागि रु ९१ करोड ६८ लाख ३१ हजार बजेट सिलिङ अनुसारको बजेट रहेको छ । नगरपालिका आफैले रु २ करोड ५६ लाख १९ हजार थपेर कुल ९४ करोड २४ लाख पु¥याएको हो ।

मंगलबार भएको नगर सभामा नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत बजेटमा संघीय समानिकरणबाट १७ करोड २ लाख, राजश्व वाडफाडमा १२ करोड १५ लाख, प्रदेश समानिकरणबाट १ करोड ७७ लाख रहेको छ ।
प्रस्तुत बजेट तथा कार्यक्रममा प्रदेश शसर्त ६ करोड, शसर्त अनुदान २५ करोड ९४ लाख, गरिबसंग विपि कार्यक्रम ४ लाख, सामाजिक सुरक्षा भत्तामा १२ करोड रुपैया रहेको छ । बजेटले युवा उद्यमी, कृषि क्षेत्रलाई जोड दिएको छ । कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख प्रभाव वरालले नगरको विकासमा नीति कार्यक्रमले नयाँ मोड लिने बताउनु भयो ।

कालिका नगरपालिका
कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड भन्दा वढि बजेट ल्याएको छ ।
नगरपालिकाको मंगलवार सम्पन्न चौथो नगर सभाले आर्थिक वर्ष २०७६÷७६ का लागि ७७ करोड २३ लाख ४४ हजार वरावरको वजेट ल्याएको हो । नगर सभामा नगर उपप्रमुख कमला भट्टराईले आगामी वर्षका लागि वजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत वजेटमा चालु खर्च २८ करोड २ लाख ९ हजार र पुँजीगत खर्च ४९ करोड २१ लाख ३५ हजार रुपैया रहेको छ ।

उपप्रमुख भट्टराईका अनुसार आगामी वर्ष आन्तरीक आम्दानी १८ करोड ९ लाख ८० हजार रुपैया, राजस्व वाँडफाँडबाट १ करोड २ लाख ९० हजार रुपैया,अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ ३९ करोड ४० लाख ७४ हजार,प्रदेश सरकारबाट ३ करोड ६ लाख ७४ हजार रुपैया आम्दानी हुने अनुमान छ । यही असार ४ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगर सभाषदहरुले राखेको जिज्ञासामा नगर प्रमुख खुमनारायण श्रेष्ठले जवाफ दिनु भएको थियो ।
सो अबसरमा उनले बजेटको पूर्ण कार्यान्वयन गरी विकास लक्ष्य पुरा गर्ने बताए । बजेट कतै चुहावट हुन दिन्नौं उहाले नगरवासीले परिर्वतनको अनुभूति गर्ने गरी विकासको कामलाई अगाडि बढाउछौं । नगर सभाका वडाध्यक्ष विनोद रेग्मी लगायतका जनप्रतिनिधिहरुले नीति तथा कार्यक्रमको विषयमा जिज्ञासा राख्नु भएको थियो । नीति तथा कार्यक्रम मार्फत सो नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायलाई घर निर्माणको लागि मेयर आवास कार्यक्रम ल्याएको छ ।

शेयर गरौ

ताजा अपडेट