चितवन समाचार डटकम, १० असार ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको बिकास, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न प्रतिपक्ष दल नेपाली काँग्रेस संग मिलेर बस्नुको बिकल्प नरहेको बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाको चौथो नगर सभालाई आज भरतपुरमा संवोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको वाँकी काम र बिकासका एजेण्डामा काँग्रेससंग मिलेर अघि बढ्नु बाध्यात्मक अवस्था रहेको बताउनुभयो । “हामीले नचाहेपनि मिल्नैपर्छ, टिआरसीका काम वाँकी छन् । केपीजी शेरवहादुरजी र म पटक पटक छलफल गरिरहेका छौं” प्रचण्डले भन्नुभयो ।
स्थानीय चुनावमा पनि तालमेल गरेकाले चितवनमा काँग्रेस संग अझ बिशेष सम्वन्ध रहेको प्रचण्डले चर्चा गर्नुभयो ।
कार्यक्रममा भावी प्रधानमन्त्रीका रुपमा पूर्ववक्ता काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले ब्याख्या गरेपछि अध्यक्ष प्रचण्डले यसको धेरै चर्चा गरेमा झन समस्या आउन सक्ने बताउनुभयो । ठट्यौली शैेलीमा मन्तव्य राख्दै प्रचण्डले भन्नुभयो, “ जीतनारायणजीले प्रधानमन्त्री हुन लागेको भनि भन्नुभयो , हुन लाग्यो भनेर धेर चर्चा गर्यो भने झन हुने कुरा पनि फुस्किन सक्छ ” ।
भरतपुर महानगरपालिकाले अघि सारेको बजेटका सन्दर्भमा टिप्पणी गर्दै उहाँले यसको कार्यान्वयमा जोड दिनुभयो । भ्रष्टचार रहित स्थानीय सरकार सञ्चालनमा ध्यान दिन उहाँले स्थानीय जनप्रतिनिधीहरुलाई आग्रह समेत गर्नुभयो ।


