चितवन, असार ८ ।
प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहनुभएका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राखेका छन् । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राखेका उनले यस वर्ष थप दुई नयाँ जातको बीउ राखेका हुन ।चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरका अधिकारीले करीब दुई बिघा क्षेत्रफलमा यो बीउलाई रोप्ने तयारी गरेका छन् । विसं २०६४ मा सात जातको धानको बीउबाट जात बढाउने अभियानमा लागेका उनले अहिले ११४ जातको पु¥याएका छन् ।करीब दुई कठ्ठामा एक पाथीका दरले छुट्टाछुटै ड्याङ बनाएर उनले गत जेठ २७ मा बीउ राखेका हुन् । यो धानको बीउ असार १५ गतेदेखि रोप्ने तयारीमा जुट्नु भएको छ । धान दिवसको दिन कार्यक्रम गरेर उनले दुई बिघामा ती धान रोप्ने गर्छन् ।
नेपालका विभिन्न जिल्ला, भारत, बङ्गलादेश र अमेरिकाबाट धानको बीउ सङ्कलन गरेर ल्याएको उनले जानकारी दिए । ‘अमेरिका र दक्षिण कोरियाबाट पनि धानको बीउ ल्याएँ’, उनले भने, ‘ती धानका बीउ उमार्न सकिएन । नेपालका उच्च भेगमा पाइने धानको बीउ पनि यहाँ उम्रिएन ।’मार्सी, जुम्ले मार्सी र मार्सी चङ्गोलजस्ता पहाडमा पाइने धान भने उहाँले वर्षेनी रोप्दै आइरहेका छन् । रैथाने एवं उन्नत जातका स्थानीय धानलाई संरक्षण गर्न वर्षेनी यो काम गर्दै आइएको उनको भनाइ छ । जीवित बीउ बैंकका रुपमा विकास गर्ने चाहना भएको उनी बताउँछन् ।
मनसारा, आछामे मसिनो, आँपझुत्ते, सत्तरी, जेठो बूढोलगायतका धान लोप हुने अवस्थामा पुगेको भन्दै उनले यसको संरक्षणमा सबै जुट्नुपर्ने बताए । उनका अनुसार नेपालमा २०० भन्दा बढी धानको जात पाइने र त्यसमध्ये ६० रैथाने र अन्य उन्नत तर अहिले स्थानीय भइसकेका धानको बीउलाई संरक्षण गरेका छन् ।उनले धानको बीउ संरक्षण गर्न निफन्ने, सुकाउने र मुसाले नखाने गरी गोदाममा भण्डारण गर्दै आइरहेका छन् । उनका अनुसार रैथाने जातका अन्य बालीको संरक्षणमा वार्षिक एक लाखभन्दा बढी खर्च हुने गरेको छ ।
अधिकारीले नेपालीहरुमा उन्नत जातको नाममा परनिर्भता बढेको भन्दै चिन्ता व्यक्त गरे ।
‘उन्नत जातको धान लगाउने चलन व्यापक छ’, उनले भने, ‘अरुले बीउ दिए उत्पादन गर्न सक्छौँ । नत्र हामीसँग बीउकै कारण कुनै वर्ष भोकै बस्नुपर्ने अवस्था आउन सक्छ ।’अधिकारीले रैथाने जातका धनलाई संरक्षण एवं प्रवद्र्धन गर्न नेपाल सरकार लाग्नुपर्नेमा जोड दिए । उन्नत जातका बिउ खरीदका लागि वर्षेनी ठूलो रकम बिदेसिने गरेको छ । उन्नत जातका धान केही वर्ष राम्रै उत्पादन भए पनि स्थानीय जातको धानमा पाइने पौष्टिक तत्व त्यसमा नपाइने उनको भनाइ छ । रासस


