सुर्खेत, ८ असार ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि पकेट क्षेत्र सांसदहरुकै निगरानीमा सञ्चालन गरिने बताउनुभएको छ ।
मन्त्रालयअन्तर्गतका योजनाको अनुगमन तथा पशुपालन र कृषि पकेट क्षेत्रको सम्भाव्यता अध्ययनको क्रममा दैलेख पुग्नुभएको मन्त्री केसीले आगामी आवबाट कृषि पकेट क्षेत्र स्थापना गरी त्यसको प्रत्यक्ष निगरानी सांसदमार्फत गर्ने बताउनुभयो । गरीब समुदायको जीवनस्तरमा सुधार गर्नका लागि मन्त्रालयले यहाँका सांसदहरुको प्रत्यक्ष निगरानी हुनेगरी ‘एक सांसद, एक कृषि पकेट क्षेत्र निर्माण गरेर काम शुरु गर्ने नीति प्रदेश सरकारले लिएको उहाँले प्रष्ट्याउनुभयो ।
अनुगमनका क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मीले सरकारले प्रभावकारी कार्यक्रम लागू गर्न किसानका बारीसम्म पुगेर अध्ययन र अवलोकन गर्ने काम थालेको बताउनुभयो । अब हरेक कृषकको आम्दानी बढाउन र कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउन स्थानीय सरकार र कृषक पनि जागरुक भएर लाग्नुपर्नेमा उहाँको जोड थियो ।
नारायण नगरपालिका–३ को पिउसेमा कृषि पकेट क्षेत्र र पशुपालनको राम्रो सम्भावना भएको बताउँदै प्रदेश सरकारले नीति निर्माण गरिदिन पूर्व जिविस सभापति टेकबहादुर खाँणले मन्त्रीसँग अनुरोध गर्नुभयो । नारायण नगरपालिका–३ का अध्यक्ष चन्द्रप्रसाद उपाध्यायले यस वडामा यहाँका दलित समुदायसँग खेतीयोग्य जमीन कम भएकाले अहिले पनि कामको खोजीमा भारत जानुपर्ने बाध्यता कायमै रहेको बताउनुभयो । (रासस)


