पाँचौँ चितवन च्याम्पियनसिपको बर्षाले रोकिएको फाईनल खेल भोली

चितवन, ०७ असार ।
भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनसिप अन्तर्गत आज हुने भनिएको फाईनल खेल वर्षातका कारण अवरुद्ध भएको छ ।
चितवनमा अत्यधिक वर्षा भएपछि आजको खेल स्थगित गरिएको प्रतियोगिताको आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । आज स्थगित गरिएको फाईनल खेल र पुरस्कार वितरण समारोह भोलि आइतबार दिउँसो साढे तीन बजे सुरु गरिने देवकोटा बताए । ‘वर्षातका कारण आज हुने भनिएको खेल रोक्न हामी बाध्य भएका छौँ’ देवकोटाले भने, –‘जस्तो सुकै परिस्थिति सिर्जना भएपनि फाईनल खेल हामी भोलि दिउँसो साढे तीन बजे गर्ने निर्णयमा पुगेका छौँ ।’
मौसम अनुकूल नभए पनि आइतबार फाइनल गराउने देवकोटाले बताए । पाँचौँ चितवन च्याम्पियनसिपको उपाधिका लागि भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको टोली र नवलपुरको रजहरमा रहेको अभिषेक चर्चबीच प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानको फाइदा उठाउँदै प्रहरीले उपाधि कब्जा गर्ने रणनीति बनाएको छ भने नवलपुरको अभिषेक चर्च पुलिसलाई घरेलु मैदानमा पछार्दै उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा छ ।
जेठ २४ देखि सुरु भएको प्रतियोगितामा सेमीफाईनलमा नवलपरासीको देशभक्त फुटबल क्लबलाई हराउँदै पुलिस फाईनलमा प्रवेश गरेको थियो । अभिषेक चर्चले भने चितवन च्याम्पियनसिपको पूर्व विजेता जु फुटबल क्लबलाई सेमीफाईनलमा हराएको हो । भोलि आइतबारको खेलमा विजयी हुने टिमले तीन लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
उपविजेता हुने टिमले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्ने अवस्था छ । प्रतियोगिताको पूर्व विजेता जु फुटबल क्लब यस सिरिजमा भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा तेस्रो भएको जु फुटबलले ५० हजार रुपैयाँ हात पार्नेछ ।

शेयर गरौ

ताजा अपडेट