चितवन, असार ७ ।
नेपाल कम्युनिष्ट पाटी(मसाल) चितवनले ऐतिहासिक आठौँ महाधिवेशन सम्पन्न भएको अवसरमा आज चितवनमा घोषणा सभाको आयोजना गरेको छ । जेठमा सम्पन्न आठौँ महाधिवेशनले गरेका निर्णयहरुको सार्वजनिक गर्नका लागि घोषणा सभाको आयोजना गरिएको हो ।
महाधिवेशनले राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, जाति, धर्म र संस्कृतिसम्बन्धी प्रस्ताव तथा पूरक प्रस्ताव सहित ६ वटा प्रस्तावहरू पास गरेको नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले जानकारी दिनुभयो ।
महाधिवेशनले समसामयिक प्रस्तावहरू पारित गर्नुका साथै मोहनविक्रम सिंह महामन्त्री रहेको २७ पूर्ण र ९ वैकल्पिक सदस्य भएको केन्द्रीय समितिको निर्वाचन गरेको ढकालले जानकारी दिनुभयो । केन्द्रीय समितिले ९ जना सल्लाहकारहरू मनोनित गरेको छ । महाधिवेशनले २०० सदस्यीय राष्ट्रिय परिषद्को पनि गठन गरेको छ ।
महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनमा अहिलेको अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थितिको विस्तृत रूपमा व्याख्या र विश्लेषण गरिएको छ । मसालले विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष समेत निकालेको छ । तर, कम्युनिस्टको आधार र भविष्य नै समाप्त नभएको उहाँले बताउनुभयो ।
प्रवक्ता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महांसंघका केन्द्रिय अध्यक्ष भैरव रेग्मी, राष्ट्रिय जनमोर्चाका चितवनका अध्यक्ष डम्मर पुरी, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष कृष्ण सुवेदी, अखिल नेपाल महिला संघकी विष्णु लामिछाने लगायतले मनतव्य राखेका थिए । कार्यक्रममा बोल्दै उनिहरुले नेकपा (मसाल)को महाधिवेशनबाट पारित भएका निर्णयहरु कार्यान्वन आग्रह गरेका थिए ।


