चितवन ५ असार ।
खैरहनी नगरपालिकाले आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य र रोजगारलाई केन्द्रीत गरेको छ ।
विहीबार आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गर्दै मानव स्वास्थ्यलाई सुविधा ल्याएको हो । कृषि, शिक्षालाई प्राथमिकता दिदै विभिन्न कार्यक्रम ल्याएको छ । विहीवार शुरु भएको पाँचौ नगर सभामा नगर प्रमुख लालमणि चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
खैरहनी नगरपालिकाले घरमा हुने सुत्केरीको संख्यालाई न्युनिकरण गर्न स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई एम्वुलेन्स भाडा उपलव्ध गराउने नीति अख्तियार गरेको छ । स्वास्थ्यको जोखिम मोलेर अझै पनि घरमै सुत्केरी गराउने क्रम छ नगर प्रमुख चौधरीले भन्नु भयो – सुत्केरी हुँदा आमा र बच्चाको मृत्यु हुने संभावनालाई ध्यान दिदै स्वास्थ्य संस्थासम्म पु¥याउन एम्बुलेन्स भाडा उपलव्ध गराउन लागेका हौ ।
खैरहनीले नगरपालिका भित्र आँखा अस्पताल निर्माणका लागि पहल गर्ने, खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा विकास गर्ने, आर्थिक अभावका कारण शौचालय निर्माण गर्न नसकेकालाई शौचालय निर्माणमा सहयोग गर्ने नीति अवलम्वन गरेको छ । खरको छानो भएका विपन्न परिवारलाई खरको छानो मुक्त गर्न सहयोग गरिने नगर प्रमुख चौधरीले बताउनु भयो । नगर भित्र करिव ३ सय वटा खरको छानो रहेको उल्लेख गर्दै चौधरीले दुई वर्ष भित्र खरको छानो मुक्त नगर बनाउने बताउनु भयो । यस्तै खेलकुदको विकासका लागि आवश्यक कानुन तर्जुमा गरी नगर खेलकुद विकास समिति गठन गर्ने जनाएको छ । युवाहरुलाई व्यवसायमा उत्प्रेरित गराउन शुन्य व्याजदरमा कर्जा उपलव्ध गराउने नगर प्रमुख चौधरीको भनाई छ ।
श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न उद्यमी तथा स्वरोजगार युवाहरुलाई सम्मान र प्रोत्साहन गरिने जनाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन प्रारम्भिक बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
विद्यालयको करेसाबारीमा मसलाबाली उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गरिने कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममाथि विहीवारनै छलफल भएको छ भने आगामी असार १० गते बजेट सार्वजनिक गरिने गरि नगर सभा स्थगीत भएको छ ।


