चितवन समाचार डटकम, १ असार ।
नेपाल टेलिकमले दुर्गम मानिएको हिमाली तथा विकट पहाडी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
सेवालाई विस्तार गरी सबैको पहुचमा पु¥याउने काम भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले चितवन समाचार डटकमलाई जानकारी दिनु भयो ।
‘विकट स्थानमा टेलिकमको सेवा कमजोर भएको भन्दै गुनासो आएका थिए, अब यसको संवोधन भएको छ ’ अधिकारीले भन्नुभयो ।
उहाँका अनुसार अहिले ४ हजार २ सय ९० मिटरको उचाइमा रहेको रसुवाको पाङसाङ डाँडामा विटिएस राखेर सेवा दिन थालिएको छ ।
यसबाट लाङटाङ ट्रेकिङ मार्ग, गोसाइगुण्ड, स्याफ्रुवेसी, सिंगनालगायत दर्जन भन्दा धेरै पर्यटकीय स्थानमा अब मोवाइल टेलिफोनको सेवा शुरु भएको जानकारी दिनु भयो । रसुवाकै लाङटाङ पदमार्गमा पनि अर्को विटिएस सेवा स्थापना गरेपछि दुइहजार ७ सय जनालाई सेवा पुगेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिनु भयो ।
त्यस्तै गरी ताप्लेजुङको विकट घुन्सा, थामे, ज्याल्पा, कञ्चलनजंघा वेसक्याम्प क्षेत्रमा पनि विटिएस सेवा विस्तार भएको छ ।
त्यस्तै गरी डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा विटिएस सेवा सञ्चालनमा आएको छ । मुस्ताङको घमी छोसेरमा विटिएस सेवा सञ्चालनमा ल्याएको छ । ४ हजार मिटर भन्दा माथिको स्थान विटिएस राखेर सेवा दिएको छ । उपल्लो मुस्ताङमा थ्रिजी मोवाइल सेवा शुरु गरेको छ ।
आउदा दिनमा पनि टेलिकमले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएको टेलिकमका प्रवक्ता प्रतिमा वैद्यले जानकारी दिनु भयो ।


