काठमाडौं, १ असार । नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयक पारित भए अब कोही पनि सुरक्षित नरहने बताउनु भएको छ । यो विधेयकले सबै खालका अभिव्यक्तिको स्वतन्त्रताहरुलाई कुन्ठित गर्ने उहाको दाबी छ ।
संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयकको तिव्र बिरोध गर्नु भयो । सांसद थापाले बहुमतको बलमा यो विधेयक पास भए सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने उहाको दाबी छ ।
सांसद थापाले प्रधानमन्त्रीकै पार्टी्भित्र रहेर फरक मत राख्ने पनि अब असुरक्षित रहेको उहाको दाबी छ । उहाले भन्नु भयो, ‘म त भन्छु, प्रधानमन्त्रीकै पार्टी्भित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार । किनकी यहाँ अब कोही सुरक्षित छैन । यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौं । यहाँ केवल सरकारको अरिङ्गालहरु मात्र सुरक्षित रहन सक्छन् ।’
विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लासखम्म जरिवाना गर्ने व्यवस्था छ । उहाले सोध्नु भयो, ‘जिस्क्याउने, झुक्याउने, होच्याउनेको परिभाषा के ?’
अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भरतमा सर्वोच्च अदालतले सूचना प्रविधि ऐनको दफा ६६, ए खारेज गरेको उल्लेख गर्दै थापाले नेपालमा भारतको भन्दा कठोर कानुन बनाउन लागिएको बताउनु भयो ।
सांसद थापाले अभिव्यक्तिको स्वतन्त्रताको पक्षधरहरुलाई होसियार रहन अपील गरे । ‘चलचित्रकर्मीहरु साथीहरु होसियार, तपाईको कथा, सम्वाद, गीतमा कसैलाई जिस्क्याउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा अब सम्भवत तपाई बस्नुपर्ला, त्यो पनि केही दिनका लागि होइन, ५ वर्ष ।’
सांसद थापाले थपे, ‘गुठियारहरु होसियार, गुठी भनेको सामन्तवादी प्रवन्ध हो भन्ने सरकारी मुखलाई खबरदारी बन्दै गर्दा धम्क्याइएको आरोपमा ५ वर्ष भित्र बस्नुपर्ला । प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्दा जिस्काइयो भनेर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार ।’


