भूमीहीनलाई भोगचलन गरी आएको जग्गाको लालपुर्जा दिन सरकारलाई सुझाव

काठमाण्डौं, असार, १ ।

विज्ञहरुले भूमिहिनहरुलाई उनीहरुले भोलचलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन । भूमि अधिकारकर्मी जगत देउजाले वर्षौदेखि भोगचलन गर्दै आएका भूमिहिनहरुलाई सो जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिनु भएको हो ।

आईतबार सिंहदरबारमा बसेको संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सुकुम्बासी समस्या समाधान गर्न पनि भूमिहिनहरुले भोगचलन गर्दै आएको जग्गा उनीहरुलाई दिन उचित हुने तर्क पनि गर्नु भयो । त्यसैगरी देउजाले मोहियानी हक सुनिश्चित गर्न छुट्टै आयोगको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

भूमि तथा सहकारी विज्ञ केशव बडालले संविधानको मौलिक हकमा भूमिहिन किसानहरुलाई तत्काल जग्गा उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई सुनिश्चित हुने गरी कानुन बनाउन सरकारसँग आग्रह गर्नु भयो । उहाँले कुनै पनि बहानामा भूमिहिनहरुको संवैधानिक अधिकार कटौति गर्ने काम नगर्न पनि सरकार र संघीय संसदलाई सचेत गराउनु भयो ।

मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय भूमि सुधार आयोगका अध्यक्ष समेत रहनु भएका बडालले जग्गाको हदबन्दी तोक्ने काममा ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

शेयर गरौ

ताजा अपडेट