काठमाडौं, ३२ जेठ । गुठी विधेयकको विरोधमा देशका धेरै स्थानमा विरोध र प्रदर्शन भइरहेका बेला कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जनभावना विपरीत गुठी विधेयक पारित नहुने स्पष्ट पारेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले गुठी विधेयक बहसमा मात्रै आएकाले कानुन नै बने जसरी नबुझ्न आग्रह समेत गरे ।
‘हामी जनताको भावना विपरीत कुनै काम गर्दैनौं, यदि आम नागरिकको सामाजिक र साँस्कृतिक भावना विपरीत विधेयक देखियो भने त्यसलाई पारित गर्दैनौं,’ पोखरेलले भने, ‘विधेयक छलफलका क्रममा आउने वित्तिकै कोही पनि आत्तिनु पदैन, अहिले नै कुनै कानुन बनेको होइन ।’
सरकारले जनताको भावना विपरीत कुनै काम नगर्ने बताउँदै संसदमा छलफलका क्रममा आएको विधेयककै कारण उत्पातै भयो भनेर नबुझ्न समेत उनले आग्रह गरेका छन् । जनताको भावना बुझेर मात्रै काम गर्ने भन्दै पोखरेलले सरकार जनताको हितविरूद्ध कहिल्यै नजाने दाबी समेत गरे ।


