चितवन समाचारडटकम, ३२ जेठ ।
नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित क्षेत्रिय रक्त सञ्चार केन्द्र (ब्लड बैंक) भरतपुरमा एक बर्षको अवधिमा २४ हजार दुई सय ४४ युनिट रगत संकलन भएको छ ।केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार जम्मा भएको रगतवाट सेतो सहित गरेर ३६ हजार ६ सय ७४ युनिट तयार गरिएको थियो ।
केन्द्रमा हाल आकस्मिक मौज्दातका रुपमा करिव तीन सय युनिट रगत रहेको पौडेलले जानकारी दिनुभयो ।
बिभिन्न सामाजिक संघसंस्था, क्लव, समुह आदीले आयोजना गर्ने रक्तदान कार्यक्रम मार्फत रगत संकलन हुने गरेको छ । अहिले गर्मीको मौसम भएकाले रक्तदान कार्यक्रममा कमी देखिएको पौडेलले बताउनुभयो ।
भरतपुर अस्पताल परिसरमा रहेको ब्लड बैंकलाई आवश्यक्ता अनुसारको कार्यालय भवन समेत नभएकोले कठिनाई भएको उहाँले जानकारी दिनुभयो ।
यसैबिच
एक सय युनिट भन्दा बढी रगत संकलन गर्ने ८६ वटा संघ संस्थालाई केन्द्रले विश्व रक्तदाता दिवसको अवसर पारी आज भरतपुरमा एक औपचारिक कार्यक्रमका बिच सम्मान तथा पुरस्कार बितरण गरेको छ ।
५ सय २४ युनिट रगत संकलन गरी नेपाल रेडक्रस सोसाईटी उपशाखा जगतपुर सबैभन्दा वढी संकलन गर्ने संस्थाका रुपमा सम्मानित भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रक्तसञ्चार केन्द्रलाई भवन बनाउन जग्गा उपलब्ध गराउने सम्वन्धमा आफु सकारात्मक रहेको जनाउदैं त्यसको पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रेडक्रस चितवनका सभापति ज्ञानशाली न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा ईच्छाकामना गाँउपालिका अध्यक्ष गीता गुरुङ, नेपाल पत्रकार महासंघ चितवनका सचिव तीर्थ नेपाल, भरतपुर महानगर पालिकाका वडा अध्यक्षहरु राजेन्द्रमणी काफ्ले, चित्रसेन अधिकारी, रेडक्रसका उपसभापति रत्नप्रसाद सापकोटा, मन्त्री हरिप्रसाद पौडेल, चितवन मेडिकल कलेजका डा. दया लम्साल, डा. माधव घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।


