जन्ती वस दुर्घटनाका मृतकको सनाखत, दुधौलीका मेयर जनकपुर अस्पतालमा

जनकपुर, माघ १२ ।
दुधौली नगरपालिका–९ जितपुरबाट गएको जन्ती बस धनुषाबाट बेहुली लिएर फर्कने क्रममा बिजुलीको पोलमा छोइएर करेन्ट लागी ज्यान गुमाउनेहरुको सनाखत भएको छ ।
घटनास्थलमा नै मृत्यु हुनेहरुमा दुधौली नगरपालिका–९ जितपुरका ४५ बर्षिय रामबाबु अधिकारी दनुवार, २० वर्षीया पूजा अधिकारी दनुवार, १७ वर्षका लीला अधिकारी दनुवार, ९ वर्षका आक्रोश कुमर, १० वर्षका सुरज अधिकारी र सवेला–४ बल्टियाका ५० वर्षीय केसमदेवी कुमर रहेका छन । घाइते आठ जनाको जनकपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये कटारीका पवन परियारको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घटनाबारे जानकारी पाएपछि दुधौली नगरपालिकाका मेयर घनश्याम राउत जनकपुर अस्पताल पुग्नुभएको छ । घाईतेको अवस्था वुझ्न र उपचारमा आवश्यक पहकलकदमीको लागी राउत अस्पताल पुग्नुभएको हो । घटनाले आफु मर्माहत भएको राउतले प्रतिक्रिया दिनुभयो ।

जनकपुर अञ्चल अस्पताल पुग्नुभएका दुधौली नगरपालिकाकाका प्रमुख राउतका अनुसार, घाइते हुनेहरुमा दुधौलीका फुलकुमारी कुमर, राजकिम अधिकारी, निलप्रसाद अधिकारी, महेन्द्र अधिकारी, रामनारायण अधिकारी, हर्वन कुमर र सरस्वती अधिकारी रहेका छन् ।
दुधौली नगरपालिका–९ जितपुरबाट गएको ना ५ ख १७५२ नम्बरको जन्ती बस धनुषाबाट बेहुली लिएर फर्कने क्रममा सवेला नगरपालिका–४ स्थित बल्टियामा बिजुलीको पोलमा ठोक्किएको थियो । बस पोलमा ठोक्किएपछि चालक फरार भएका थिए । बस ठोक्किदा लत्रेको तारले बसको छतमा छुँदा सो घटना भएको जनाइएको छ ।

शेयर गरौ

ताजा अपडेट