चितवन २८ जेठ । भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत आजको खेलमा हर्दी युवा समाज विजयी भएको छ ।
हर्दी युवा समाज भण्डारा र भैरव स्पोर्टस् क्लबबीच भएको आजको खेलमा हर्दी युवा समाज २–० गोल अन्तरले विजयी भएको हो । प्रतियोगितामा हर्दी युवा समाजका समीर तामाङले गरेको दुई गोल गर्दै टिमलाई विजय पथमा डोहो¥याएका आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिनु भयो ।
जीतसँगै हर्दी युवा समाज क्वार्टर फाइनल प्रवेश गरेको कोइरालाले बताए । प्रतियोगितामा हर्दी युवा समाजकै अनिश तामाङ म्यान अफ दी म्याच घोषित भएका कोइरालाले बताउनु भयो ।
प्रतियोगिता अन्तर्गत बुधबार रामपुर फुटबल क्लब र सुन्धारा फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनु भयो । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी भएका देवकोटाले बताउनु भयो । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने देवकोटाले जानकारी दिनु भयो ।
प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्ने देवकोटाको भनाइ छ । सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिनु भयो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने पनेरुले बताउनु भयो।


