धनुषा, १२ माघ ।
सिन्धुलीको दुधौलीवाट धनुषाको सवैला गएको जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ७ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा शुक्रबार साँझ सवा ७ बजेतिर करेन्ट लागेको थियो । बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् । तर जन्ती सवार बसमा भने छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइएर आगलागी भएको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा अस्पताल ल्याउँदाल्याउँदै मृत्यु भएको छ । ३ महिला, १ बालिका, १ बालक र एक जना पहिचान हुन बाँकी व्यक्ति गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको प्रजिअ कँडेलले जानकारी दिए ।
सिन्धुलीका वर्ष ९ का आक्रोश कुँवर, वर्ष २२ की पूजा अधिकारी, उमेर खुल्न नसकेकी लिला अधिकारी, धनुषा सबैला ४ पटेर्वाका केशव वेरी कुँवर मात्र सनाखत भएको छ । घटनाबारे जानकारी पाएलगत्तै सेना, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयबासी उद्धारमा खटिएका थिए घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ ।