किन हुन्छ दाँत सिरिङग

डा. प्रकाश बुढाथोकी वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन वीर अस्पताल, काठमाडौं

दाँत सिरिङ–सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग जन्माउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ ।

यस्तालाई हुन्छ सिरिङ–सिरिङ ?
धेरै कडा ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत तरिकाले ब्रस गर्ने ।

बुढ्यौली उमेरका ।

गिजा तथा पेरियोडोन्सियमको उपचार गरिएका बिरामी ।

अमिलो डकार्ने व्यक्ति ।

थुक वा र्‍याल कम आउने ।

धेरै मात्रामा तथा लामो समयसम्म मुखमा राखी अम्लीय खाद्य पदार्थ कागती, अंगुर खानेहरू ।

अम्लीय पेय पदार्थ दिनभरि पिउनेहरू, जस्तै– कोल्ड ड्रिंक्स ।

ब्याट्री, प्लेटिङ, दर्जी, सिकर्मी, जुत्ता बनाउने, धुलोमा रोजगारी तथा काम गर्ने ।

दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बबी पिन दाँतले खोल्ने बानी, माटो खाने बानी भएका ।

ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्टम खिइएर डेन्टिन देखिने अवस्था एब्रेजन अमेरिकामा ८–३० प्रतिशतमा देखिएको छ ।

नेपालमा आधिकारिक आँकडा नभए पनि ११ सय ५० वटा स्वास्थ्य शिविर, अस्पताल तथा चिकित्सालयमा बिरामी हेर्दाको अनुभवअनुसार करिब ३५ देखि ५५ प्रतिशतमा पाइएको छ । २५ देखि ४५ वर्ष उमेर समूहमा, पुरुषभन्दा महिलामा बढी देखिने यो समस्या कुकुर र प्रिमोलार दाँत, गालातिरको दाँतको घाँटी क्षेत्रमा र चल्ने, ब्रस गर्ने हातको उल्टोतिर जस्तै दाहिने हात बढी चल्ने भए देब्रेतिरका दाँतमा बढी देखिन्छ ।

दाँतको घाँटी क्षेत्रमा बाहिरी पत्र अति नै पातलो हुने दन्त लेउ, दन्त पत्थर तथा फोहोर कुरा यसैमा टाँसिने तथा सफा गर्दा हटाइने भएकाले पनि दाँत र गिजाको भेट हुने स्थान वा दाँतको घाँटीमा सिरिङ हुने समस्या बढी हुन्छ ।

दाँत सिरिङ हुने समस्याले जीवन दुःखदायी बनाउँछ । तातो, चिसो, गुलियो र अमिलो खाँदा दुख्ने तथा कष्ट हुने भएकाले, खाने तथा पिउने आनन्द पाउन सक्दैन । त्यसैगरी, दाँत सफा गर्ने काममा बाधा पर्दा तथा ब्रस नगर्दा फोहोर कुरा, दन्तलेउ जम्मा भई सेन्सिटिभिटी बढाउँछ । यसले दाँत सड्न, गिजासम्बन्धी रोग, पाइरिया र शरीरमा विभिन्न रोग निम्त्याउँछ ।

नयाँ पत्रिकाबाट

ताजा अपडेट