भैरहवा, २६ जेठ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले दुई अध्यक्षबीचको अन्तर विरोधको मूल्य देशले चुकाउन नसक्ने बताएका छन् । उनले पार्टीमा अन्तरविरोधको समस्या चर्को रुपमा देखिन थालेको बताउँदै भने, ‘दुई अध्यक्षबीच अन्तरविरोधको मूल्य राष्ट्रले तिर्ने गरी पार्टी बन्न हुँदैन ।’
लुम्बिनी प्रेस क्लब रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको अन्तर संवाद कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा सांसद समेत रहेका भुसालले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच ढोका थुनेर बन्द कोठामा गरिएको सहमति र छलफल के थियो भन्ने जानकारी पार्टीमा हुनुपर्ने बताए ।
पार्टी ९५ प्रतिशत बहुमत विधिले सञ्चालन हुनुपर्ने भए पनि पार्टी विधिमा जान नसकेकाले यसको जवाफ दुवै अध्यक्षले दिन सक्नु पर्ने उनले बताएका छन् । यसको जवाफ दिने अझ बढी दायित्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीको रहेको पनि औंल्याए ।
पार्टीका दुई जना अध्यक्ष बीचको सहमति कसको पक्षमा छ भनेर खोजिनु भन्दा ठूलो कुरा विधिको भएको भनाइ उनले बताएका छन् । पार्टीमा नियम विधिले भन्दा केही सीमित व्यक्तिको स्वेच्छाचारी प्रवृति हावी भइरहेको आरोप समेत उनले लगाएका छन् ।


