चितवन समाचार डकटम,
२६ जेठ । सात महिनादेखि अण्डाको मुल्यमा गिरावट आएपछि लेयर्स कुखुरा पालक किसानको पेशानै संकटमा पर्न थालेको छ ।
एक वर्ष अगाडि मात्रै प्रति क्रेट ३ सय भन्दा माथि रहेको अण्डाको मुल्य अहिले २ सय १० रुपैयाँ रहेको छ । यो मुल्यले लागत पनि नउठेको भन्दै केही किसानले घाटा खाएर कुखुरा बिक्री गरी पेसा छाडेका छन् । भरतपुर महानगरपालिका वडा नंं १४ का किसान गोविन्द शर्माले भन्नु भयो ‘समय आउछ की भन्दै ७ महिनादेखि घाटामा कुखुरा पालेका छौ ।’ ५ हजार कुखुरा पाल्दै आउनु भएको उहाले भन्नु भयो ‘दैनिक ५ हजार घाटा छ । ’
दाना, औषधि, विजुली, मजदुरको खर्च पनि उठेको छैन । किसानका अनुसार लागत मुल्य उठ्नको लागि प्रतिक्रेट २९० रुपियाँ पाउनु पर्दछ । तर अहिले किसानले प्रतिक्रेट २१० रुपियाँ पाएका छन् ।
अरुले नाफा गरेको देखेर बैकबाट ऋण लिएर लेयर्स कुखुरा पाल्न थाल्नु भएका भरतपुर १४ भिमनगरका अनिल भट्टराइले भन्नु भयो ‘मैले कुखुरा पाल्दा अण्डाको मुल्य राम्रो थियो उत्पादन भएपछि ह्वात्तै घटेको छ ।’ एकहजार कुखुरा पाल्दै आउनु भट्टराइको खोरमा अण्डा उत्पादन तीन महिना अगाडिबाट शुरु भएको छ ।
उहाले भन्नु भयो ‘अण्डा उत्पादन हुने बेलाबाट मुल्यमा भारी गिरावट आयो, अहिलेसम्म सुधार भएको छैन ।’ आम्दानी खर्च बराबर हुनको लागि पनि एक क्रेट अण्डाको मुल्य २८० रुपैया हुनु पर्दछ उहाले भन्नु भयो । दैनिक एक हजार रुपैया घाटा खाएर पालेको छु । कुखुरा बिक्री गर्छु भन्दा किन्दैन् अण्डा उत्पादन गरेर बिक्री गर्दा दैनिक घाटा छ उहाले भन्नु भयो । यो अवस्थामा चटक्कै पेसा छाड्नलाई असजिलो भएको छ ।
ठुला व्यवसायीले गर्दा हामी सानालाई समस्या परेको छ । नेपाल अण्डा उत्पादक संघले किसानको समस्याको बारेमा बोल्न सकेको छैन । धेरै अण्डा उत्पादन गर्नेहरु नै संघमा आवद्ध हुन्छन् उनीहरुको खोरमा खण्डा भएन भने मुल्य घटाउछन् उहाले आरोप लगाउनु भयो ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष तिलोचन कडेलले भन्नु भयो अण्डा बिक्री नभएर नै मुल्य घटाएको हो । माग थोरै भएपछि उत्पादन भएका अण्डा बिक्री गर्नको लागि बाध्य भएर मुल्य घटाउनु परेको छ । तीन वर्ष अगाडि अण्डाको मुल्य ३७० रुपैया प्रति क्रेटसम्म पुगेको थियो । एक वर्ष अगाडि पनि मुल्य ३ सयम भन्दा माथि थियो । अण्डाको मुल्य संघले निर्धारण गर्दछ । दानाको मुल्य बृद्धि, औषधिको मुल्य बृद्धि, मजदुरहरुको तलब लगायतको खर्च बृद्धि हुने तर किसानले उत्पादन गरेको सामग्रीको मुल्य उचित नपाउदा समस्या भएको किसानको भनाइ छ ।
लेयर्स कुखुरा पालेर घाटा खाएपछि पेसा छाड्नु भएका मेघौलीका किसान बद्री अर्यालले भन्नु भयो घाटा हुने देखिपछि कुखुरानै बिक्री गरे । अण्डा उत्पादन हुन थालेपछि मुल्य घट्यो बड्ने संकेत नदेखेर कुखुरानै घाटा खाएर बिक्री गरे उहाले भन्नु भयो दैनिक घाटा खाएर बस्नु भन्दा एकै पटक घाटा खादा राम्रो ।
अहिलेको मुल्यले किसानलाई फाइदा नभएको संघले जनाएको छ । नेपाल पोल्ट्री व्यवसायी मञ्च चितवनका कार्यकारी निर्देशक शिवप्रसाद वरालले भन्नु भयो किसानले लागत मुल्य पनि पाएका छैनन । उहाका अनुसार देशैभरी अहिले दैनिक ३० लाख अण्डा उत्पादन हुने गर्दछ । ति मध्य चितवन जिल्लामा मात्रै १५ लाख अण्डा बजारमा निस्कने गर्दछ । जिल्लामा उत्पादन भएको अण्डा २० प्रतिशत मात्रै स्थानीय बजारमा विक्री हुने गरेको छ । बाँकी ८० प्रतिशत अण्डा काठमाण्डौ, पोखरा लगायतका ठुला बजारमा जाने गर्दछ ।
संघमा भाडभैलो
नेपाल अण्डा उत्पादक संघमा अहिले कुन अध्यक्ष हो भन्ने विषयले भाडभैलो भएको छ ।
संघको सौराहामा भएको साधारण सभामा वर्तमान अध्यक्ष त्रिलोचन कडेलले राजीनामा दिएको भन्दै हिडेपछि पूर्व अध्यक्ष शिवराम केसीलाई अध्यक्ष बनाइएको छ । साधारण सभाको वहुमतले केसीलाई अध्यक्ष बनाएर अन्य सदस्य राखिएको छ ।
साधारण सभा छाडेरी हिड्नु भएका कडेल भने संघको आधिकारिक अध्यक्ष आफू नै भएको बताउनु हुन्छ । संघमा सदस्य नभएकाहरुको हुल हुज्जत गरेपछि साधारण सभा गर्न नदिएर आफूसहितका कार्यसमिति हिडेको कडेल बताउनु हुन्छ । आफू नै आधिकारिक अध्यक्ष भएको उहाँको दावी छ ।
किसानको हक अधिकारका विषयमा बोल्ने भन्दै गठन भएको संघमा भाडभैलो भएपछि किसानको समस्या समाधान गर्न संघ असफल भएको छ ।


