२५ जेठ, भरतपुर । बौद्ध बिहार संघ चितवनको प्रथम साधारणसभा सम्पन्न भएकोे छ । शनिबार नेपाल अहिंसाबादि बौद्ध धर्म चक्र संघका अध्यक्ष प्रेमदोर्जे बल लामाको प्रमुख आतिथ्यतामा संघको प्रथम साधारणसभा सम्पन्न भएको हो । साधरणसभामा बोल्ने बक्ताहरुले भुकम्पबाट क्षति भएका गुम्बाहरु हालसम्म पुननिर्माण हुन नसक्नु दुखद भएको बताए । विभिन्न बाहानामा गुम्बा पुननिर्माणका लागि आएको बजेटसमेत रोकिएको बताउदै संघका अध्यक्ष गोलेले पिडित गुम्बाहरु संगठित भई राज्यलाई दबाब दिने काम जारी रहेको बताए । जसका लागि सुरुमा गुम्बा संघर्ष समिति र पछि सोहि समिति बिघटन गरि बौद्ध बिहार संघ गठन भई संघर्ष जारी राखिएको उनको भनाई छ । लामो गृहकार्य पछि अहिले पुननिर्माणसम्बन्धि कार्यविधि पारित भएको र क्षतिग्रस्त गुम्बाहरुलाई विभिन्न ग्रेडमा राखेर लगत स्टिमेट तयार पार्ने काम भइरहेको उनले बताए । प्रमुख अतिथि लामाले समाजमा शान्ति कायम गर्न र बौद्ध मार्गदर्शनमा हिड्नका लागि गुम्बा बिहारहरुको संरक्षण र प्रबद्र्धन जरुरी रहेको बताए । जसका लागि संघले भुमिका खेल्नुपर्ने उनको धारणा छ । कार्यक्रममा नेपाल तामागं घेदुगंका अध्यक्ष गोपिराज घलान, इच्छाकामना घेदुगंका सचिव बोध बहादुर लामा, पाख्रिन समाजका अध्यक्ष ज्ञान बहादुर पाख्रिन, नेफिन चितवनका उपाध्यक्ष राम बहादुर भुजेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बौद्ध बिहार संघ चितवनका अध्यक्ष सिहंबहादुर गोलेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मिन बहादुर लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष गोलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सोम बहादुर गोलेले स्वागत मन्तव्य राखेका थिए ।


