१७ वर्षपछि भरतपुर विमान स्थलको धावनमार्ग मर्मत हुदै, उडान समय विहान ९ः३० देखि ३ बजेसम्म

चितवन समाचार डटकम,
२४ जेठ । भरतपुर विमान स्थलको धावनमार्ग १७ वर्षपछि मर्मत गरिन लागेको छ ।

सन् २००२ मा कालोपत्रे गरेको यस विमान स्थलको धावनमार्ग अहिले ओभरले (कालोपत्रेमा थप्ने कार्य) गर्ने काम शुरु भएको हो । भरतपुर विमान स्थलका प्रमुख पवनकुमार गौतमले भन्नु भयो ‘कालोपत्रे गरेको लामो समय भयो, भत्केर टाल्ने काम भएको थियो अब पुरै ओभरले हुदैछ ।’

अहिले भइराखेको कालोपत्रेमा थप्नको लागि प्रविधिकहरुले काम गरिराखेका छन् । असार मसान्त अगाडिनै काम सम्पन्न गर्ने गरी काम शुरु भएको छ । प्रमुख गौतमले भन्नु भयो ‘यही जेठ १५ गतेबाट धावनमार्गको छेउमा रहेको झार हटाउने, सफा गर्ने काम भइराखेको छ ।’ जहाजको उडान सख्या धेरै भएकाले धावनमार्गको मर्मत देखिएको छ ।

भरतपुर विमान स्थल आयोजना प्रमुख हिमज्योति थापाले चितवन समाचार डटकमलाई भन्नु भयो ‘अहिले भइराखेको पिचमा ६ सेन्टिमिटर मोटाइ थप्ने काम हुदैछ ।’ आवधिक मर्मत अन्तरगत यो कार्य भएको उहाले बताउनु भयो । हरेक ७ देखि १० वर्ष भित्रमा यस्तो काम हुनु पर्नेमा यहाँ लामो समयपछि हुन थालेको छ । आयोजना प्रमुख थापाका अनुसार ९ करोडको लागतमा धावनमार्गमा कालोपत्रे, पार्किङ, ढल लगायतको काम हुदैछ ।

काठमाण्डौ भरतपुरको उडान सख्या थपिदै जादा त्यसको असर पिचमा देखिएको कार्यालयले जनाएको छ । १२ सय मिटर लम्बाइ रहेको यहाँको धावन मार्गको मर्मतपछि जहाज सुरक्षित अवतरण गर्न सकिने आयोजनाले चितवन समाचार डटकमलाई जानकारी दिएको छ । धावनमार्ग कालोपत्रे गर्ने भएपछि यहाँको उडान समय विहान ९ः३० देखि वेलुका ३ बजेसम्म मात्र रहेको छ । अन्य समयमा भने धावनको मर्मत कार्य भइरहने आयोजना प्रमुख थापाले बताउनु भयो । अहिले कालोपत्रेको दायाँवायाँ झार हटाउने र असार मसान्तसम्म ओभरले गरिसक्ने लक्ष्य रहेको छ । अन्य काम भने आउदो एक वर्ष भित्र सकिने टेण्डर समय रहेको थापाले चितवन समाचार डटकमलाई जानकारी दिएको छ ।

वि.सं २०१५ देखि सेवा शुरु गरिए पनि विधिवत् रुपमा २०१८ सालमा तत्कालिन हवाई सेवा विभाग अन्तर्गत भरतपुर हवाई कार्यालय स्थापना भएको थियो । भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा दैनिक औसतमा पाँचसय यात्रुले यात्रा गर्दै आएका छन । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् ।

धावनमार्ग २०० मिटर छोडेर विमान अवतरण गरिँदै आएको छ । साना जहाजलाई उडान र अवतरणमा ६०० देखि ८०० मिटर धावनमार्ग भए पुग्छ । ठूला जहाजलाई भने एक हजार ४०० मिटर जरुरी पर्छ । हाल धावन मार्गको लम्बाई एक हजार २ सय मिटर मात्र छ । हुस्सु लागेका बेला अग्ला घरका कारण विमान अवतरण र उडानमा समस्या हुने गरेको छ । भरतपुर विमानस्थलको धानवमार्ग विस्तार गरी ठूला विमान अवतरण हुन सकेमा यहाँका यात्रुले सहज र सस्तो मूल्यमा यात्रा गर्न पाउने छन् ।

शेयर गरौ

ताजा अपडेट