नेकपा सचिवालय बैठक : ३० मिनेट कुरायर स्थगित, दुइसाता लम्बियो

काठमाडौ २३ जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको नेकपाको सचिवालय बैठक २ घण्टा पर सारिएको जानकारी बालुवाटारबाट सदस्यहरुलाई गराइयो।

सोही सूचनाका आधारमा ११ बजे बालुवाटार पुगेका सचिवालय सदस्यहरु प्रधानमन्त्रीको पर्खाइमा आधा घण्टा बसे। तर एक्कासी प्रधानमन्त्री केपी ओलीका तर्फबाट बिष्णु रिमालले आजको बैठक स्थगित गरिएको जानकारी गराएपछि सदस्यहरु रुष्ट भएका छन्।

एमाले पूर्ब अध्यक्षसमेत रहेका नेता झलनाथ खनालले बिहीबार बैठक स्थगित हुनुले पार्टी एकतामा झन जटिलता थपिएको प्रतिक्रिया दिएका छन्। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने, ‘दुवै अध्यक्षले गृहकार्य नपुगेको भनेर बालुवाटारमा पुगेका हामीलाई फर्काउनुभयो।’

गृहकार्य नपुगेको बहाना बनाएर प्रधानमन्त्री ओलीले अन्तिम समयमा आएर बैठक स्थगित गरिएको जानकारी गराए पनि दोहोरो जिम्मेवारी दिन उनको अडानमा अर्का बरिष्ठ नेता माधब नेपाल समूह सहमत नहुनु नै मुख्य बिषय हो।

यसो हुँदा पार्टीको जिल्ला तहको एकता प्रक्रिया कम्तिमा दुई साताका लागि पर धकलिएको छ। प्रधानमन्त्री ओली आगामी आइतबारदेखि स्वीट्जरल्याण्ड र फ्रान्स भ्रमणमा निस्कदै छन्।

जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्दा दोहोरो जिम्मेवारी दिने कि नदिने भन्ने बिषयमा मतैक्य नभएपछि बुधबार बसेको नेकपाको सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

शेयर गरौ

ताजा अपडेट