चितवनको चैते धानमा मरुवा रोग, उत्पादन नहुने भएपछि किसानले खेतमा जोत्न थाले

चितवन समाचार डटकम,
२३ जेठ । चितवनमा लगाएको चैते धानमा नेक ब्लास्ट (मरुवा रोग) लागेपछि उत्पादनमा भारी गिरावट आउने भएको छ ।

उपचार नहुने रोग लागेपछि कृषि प्राविधिदेखि किसानसम्म चिन्तामा परेका छन् । चैते धानको लागि पूर्वी चितवन उर्वर भूमि हो । उत्पादन नहुने भएपछि किसानले अहिले खेतमा नै धान जोत्न थालेका छन् । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी रामराज पौडेलले चितवन समाचार डटकमलाई भन्नु भयो ‘यहाँ ५ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ, स्थलगत रिपोर्ट अनुसार रोगले धेरै ठाउँमा असर पारेको छ ।’

मरुवा रोगले गर्दा यस वर्ष भारी मात्रामा उत्पादन गिरावट आउने कार्यालयले जनाएको छ । कार्यालयका बाली संरक्षण अधिकृत पुर्णीमा क्षेत्रीले भन्नु भयो ‘थोरै समयमा छिटो फैलिने यो रोगले बाली नस्ट पारेको छ ।’ चितवनमा हर्दिनाथ जातका धान लगाइएको छ । यो जातको धानमा रोग व्यापक लागेको छ । यो रोग लागेपछि उपचार संभव छैन अधिकृत क्षेत्रीले चितवन समाचार डटकमलाई भन्नु भयो ‘रोग लाग्नु भन्दा पहिलानै उपचार गरेमात्र बच्न सकिन्छ ।’

रोगले धानको आँख्ला, घाटीमा असर गर्दछ । एउटा क्षेत्रमा रोग लागे रातभरीमा अन्य क्षेत्रमा फैलिएर जान्छ । अधिकृत क्षेत्रीले भन्नु भयो ‘यो रोगले यहाँका अधिकांस क्षेत्रमा लगाएको धानमा असर पारेको छ ।’ उहाँका अनुसार वातावरणमा रोगको जिवाणु, तापक्रम, आद्रता, धानको जात विभिन्न कारणले गर्दा रोग लाग्ने गर्दछ । यो रोगबाट बच्नको लागि विउ छनौट, रोगबाट बच्नको लागि शुरुमा नै विषादीको प्रयोग गरेको भए अहिलेको अवस्था आउने थिएन ।

हरियाली फलफूल तथा ताजा तरकारी सहकारी राप्तीका व्यवस्थापक रोजनाथ ओलीले चितवन समाचार डटकमलाई भन्नु भयो ‘राप्ती नगरपालिका क्षेत्रका ९० प्रतिशत स्थानमा लगाएको धान रोगले सखाप पारेको छ ।’ रोगलागेपछि धानको उत्पादन सुन्य हुने भएकाले केही किसानले धान जोतेका छन् । एक स्थानबाट फैलदै जाने भएकाले आज नभएको स्थानमा भोली लाग्ने हुदा रोगको प्रकोप बृद्धि भइराखेको छ ।

खैरहनी नगरपालिका कार्यालयका कृषि अधिकृत श्रीकान्त घिमिरेले भन्नु भयो ‘ हरेक वर्ष यो रोगको प्रकोप बृद्धि भएको छ ।’ सचेतनाका कार्यक्रम सञ्चालन गरेपनि रोकथाम हुन सकेन । नगर क्षेत्रमा लगाएका धान मध्य ४० प्रतिशतमा भन्दा धेरैमा यो रोगले असर पारेको उहाले बताउनु भयो । खैरहनीमा ३ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाउने गरिएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ५ हजार हेक्टरमा यो धान लगाउने गरिएको छ । गत वर्ष चैते धान २१ हजार मेट्रिक्टन उत्पादन भएको थियो यस वर्ष रोगले भारी गिरावट आउने कार्यालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट