चितवन २२ जेठ । संविधानको मर्म विपरित अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिल विद्ययक खारेज गर्नु पर्ने यहाँका सरोकारवालाले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले बुधबार भरतपुरमा विद्ययक सम्वन्धी राजनीतिक दल र अन्य सरोकारवाला बिच आयोजना गरेको छलफलमा यस्तो जोड दिएको हो । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यमवहादुर परियारले संविधानको मर्म विपरित कुनैपनि विद्ययक मान्य नहुने बताउनु भयो ।
अहिलेको परिर्वतन ल्याउनमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले पत्रकारिताको घाटी निमोठ्ने गरी कुनै पनि कानुन आउन नहुने बताउनु भयो । सरकारले सदनमा ल्याएका सबै विद्ययक जस्ताको जस्तै पास हुने अवस्था हुदैन उहाले भन्नु भयो सांसदहरु हुनुहुन्छ उहाहरुले त्यस्ता बाधा गर्ने खालका वुदाहरु संसोधन वा हटाएर अगाडि जान सक्ने अवस्था छ ।
सरकारले नागरिकले पाउने अभिव्यक्ति स्वतन्त्रताको घाटी निमोठेर जाने अवस्था नरहेको बताउनु भयो । प्रतिपक्षले उठाए जस्तो वा बाहिर आए जस्तै गरी सरकार अधिनायकवाद तर्फ नगएको समेत उहाले बताउनु भयो । पत्रकारिता क्षेत्रबाट पनि सत्यतथ्य विषय बाहिर ल्याउन अनुरोध गर्नु भयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले स्वतन्त्र अभिव्यक्ति माथिको अंकुश भएको भन्दै आफ्नो पार्टीले विरोध गरेको बताउनु भयो । सदनबाट यो विद्ययक पास गर्न नदिने गरी पार्टीले आफ्ना कार्य सञ्चालन गरेको बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, सिर्जना अर्यालले अहिले ल्याउन लागेको विद्ययकमा १४ वटा वुदाहरुमा महासंघको आपत्ती रहेको बताउनु भयो । कतिपय विषयहरु पत्रकारिता क्षेत्रसंग सम्बन्धित नहुदा पनि यसै क्षेत्रमा राखेकाले त्यस्ता विषय हटाउनु पर्ने माग राख्नु भयो । महासंघले चरणवद्ध आन्दोलन गर्दै आएको भन्दै आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनु भयो ।
कार्यक्रममा चितवन जिल्ला अदालत वारे एसोशियसनका अध्यक्ष कमलराज पाठकले विद्ययक ल्याएर राज्यले पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्न खोजेको देखिएको बताउनु भयो । कुनै विषयमा पीडित पक्षलाई मानहानी लागेमा जरिवाना मनासिव भन्ने शब्द राख्दा यसले धेरै असर पर्ने बताउनु भयो । कतिपय विषय अनावश्यक उठाएर भ्रमित पार्ने गरी समाचार आउने गरेको भन्दै यस कुरालाई ध्यान दिन अनुरोध गर्नु भयो ।
कार्यक्रममा पब्लिक क्याम्पसका महासचिव कृष्ण न्यौपाने, प्राध्यापक संघका केन्द्रीय सदस्य बालानाथ सिग्देल, चिकित्सक संघका अध्यक्ष डाक्टर प्रकास खतिवडा, प्याब्सन चितवनका अध्यक्ष टिकाराम चापागाइ, मानवअधिकारकर्मी राजेन्द्र पौडेल, महिला अधिकारकर्मी कल्पना उप्रेती, गैरसरकारी महासंघका जिल्ला अध्यक्ष सुरेशकुमार अधिकारीलगायतले विद्ययकको विरोध गर्नु भएको थियो । कार्यक्रम शाखा अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


