पाकिस्तानद्धारा एकदिवसीय विश्वकप क्रिकेटकोमा पहिलो जित हासिल

काठमाडौं, २१ जेठ :

आयोजक इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करणमा पहिलो जित निकालेको छ ।

गएराति सम्पन्न रोमाञ्चक खेलमा पाकिस्तानले आयोजक इङ्ल्यान्डलाई १४ रनले हराएको हो । खेलमा पाकिस्तानले दिएको ३ सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३४ रन मात्र बनाउन सक्यो । उसका लागि जो रुट र जोस बट्लरले शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् ।

रुटले १ सय ७ रन बनाउँदा बट्लरले १ सय ३ रन जोडे । पाकिस्तानका वहाब रियाजले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन खेलाडीको अर्धशतकको मद्दतले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रन जोडेको थियो ।

उसका लागि मोहमद हाफिजले ८४ रन जोड्दा बाबर आजमले ६३ तथा सरफराज अहमदले ५५ रनको योगदान दिए । इङ्ल्याण्डका क्रिस भोक्स र मोइन अलीले ३–३ विकेट लिए । जितसँगै पाकिस्तानले पछिल्लो १२ एकदिवसीय खेलमा पहिलो जित निकालेको छ । यसअघि पाकिस्तानले एकदिवसीय क्रिकेटमा लगातार ११ खेल हारेको थियो ।

जारी विश्वकपको पहिलो खेलमा वेष्ट इन्डिजसँग लज्जास्पद हार भोगेको पाकिस्तानले यो जितसँगै लय समातेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ल्यान्ड भने दोस्रो खेलमा पराजित भएपछि आलोचित बनेको छ । विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र श्रीलंका भिड्नेछन् ।

दुवै टोलीले पहिलो खेल हारेका थिए ।

शेयर गरौ

ताजा अपडेट