काठमाडौं, १९ जेठ :
इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
लन्डनमा आज दिउँसो नेपाली समय अनुसार तीन बजेर १५ मिनेटमा खेल सुरु हुने छ । यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो । पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो । यता, बंगलादेशको लागि भने यो पहिलो खेल हो । दक्षिण अफ्रिका आफ्नो दोस्रो खेलमा जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ ।
त्यस्तै, बंगलादेश भने आफ्नो पहिलो खेलमै दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा सुखद् सुरुवात गर्न चाहन्छ ।
तुलनात्मक रुपमा बंगलादेश भन्दा दक्षिण अफ्रिका बलियो टिम हो । दक्षिण अफ्रिकासँग कप्तान फाफ डु प्लेसिस, इमरान ताहिर, हसिम अमला, डि कक, जेपी डुमिनी, डेभिड मिलर जस्ता अनुभवी खेलाडी छन् ।


