रुपन्देही, १७ जेठ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरणपछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु प्रचण्डका लागि अशोभनीय र अमर्यादित हुने बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्नु मर्यादित हुन्थ्यो तर एकीकरण गरिसकेपछि केका लागि आलोपालो भन्दै महासचिव वैद्यले प्रश्न गर्नु भएको छ ।
दुई तिहाइ रहेको पाटी भित्रकै अर्का अध्यक्षले प्रधानमन्त्रीमा पालो खोज्नु अशोभनीय रहेको उहाले बताउनु भयो । नेकपा अध्यक्ष प्रचण्डले एक मिडियालाई अन्तरवार्ता दिंदै १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने कुरामा ओलीबाट असहयोग नहुने बताउनु भएको थियो ।
कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको आरोप उहाले लगाउनु भयो । उहाले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको बताउनु भयो ।
महासचिव वैद्यले सरकारी प्रभुत्व मिडियामाथि स्थापित गर्दै सरकारले स्वतन्त्र पत्रकारितामाथि प्रहार गर्न खोजिरहेको बताउनु भयो । वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै महासचिव वैद्यले आर्थिक वर्ष २०७६–७७ को बजेटको आलोचना गर्नु भएको छ ।


