काठमाण्डौं १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि धावा बोलेको कारण केपी ओली नेतृत्वको कम्युनिष्ट शासनबिरुद्ध अर्को लडाई गर्नुपर्ने अबस्था आउन सक्ने बताउनु भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा गणतन्त्र दिबसका अबसरमा बिहीबार राजधानीमा आयोजित संघीयता कार्यान्वयनका चुनौती बिषयक गोष्ठीमा सभापति देउवाले यस्तो बताउनु भएको हो । उहाले लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक शासन व्यबस्था कमजोर बनाउने षड्यन्त्रमा लागेकोले ओली सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने बताउनु भयो । उहाले त्यसका लागि तयारी अबस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनु भयो ।
संघीयता बिरोधी बर्तमान सरकारले बजेटमा समेत संघीयतालाई प्राथमिकतामा नपरेको उल्लेख गर्नु भयो । संविधानले प्रदेशलाई दिएको अधिकारसमेत खोसेर सिंहदरबारमा केन्द्रीकृत गर्न खोजेको आरोप लगाउनु भयो ।
कार्यक्रममा उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कम्युनिष्ट शासन प्रणाली र संघीयता परस्पर बिरोधी भएको भन्दै यी दुबै एकसाथ अघि बढ्न नसक्ने बताउनु भयो । उपसभापति निधिले मुलुक हाँक्ने ड्राइभरको सिटमा बसेका प्रधानमन्त्री ओली स्वयं संघीयतामा बिश्वास नगर्ने भएकोले मुलुक जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने भएकोले त्यसतर्फ सचेत हुन आग्रह गर्नु भयो ।
संघीयतामा बिश्वासन नगरेकै कारण प्रदेश सरकारलाई अधिकाबिहीन बनाएर प्रधानमन्त्री ओलीले तल्लो तहको अधिकारसमेत सिंहदरबारमा केन्द्रिकृत गरेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिष्टहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सत्ताप्राप्तिको भ¥याङ बनाएको आरोप लगाउनु भयो । तर कांग्रेसका लागि संघीयता बिश्वास भएको महामन्त्री खड्काको भनाई थियो ।


