चितवन १३ जेठ । पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको १७ औ स्मृति दिवसमा आज साँझ चौविसकोठीमा दीप प्रज्वलन गरिएको छ ।
सामाजिक विभेद, जनताको मुद्दाका विषयमा कलम चलाउदै आएका पत्रकार इच्छुकलाई तात्कालिन राज्यले वेपत्ता पारेर हत्या गरेको थियो । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा नेकपाका प्रदेश सदस्य तथा प्रदेश सांसद घनश्याम दाहाल अविनासले सरल सामान्य जीवन बिताएका इच्छुकले जनताको आवाजलाई पत्रकारिताको माध्यमबाट आम सर्वसाधारणमा पु¥याउने काम गरेको बताउनु भयो ।
यस्तै गरी नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले जनपक्षीय कलम चलाउदा चलाउदै तत्कालिन राज्यले उहाँको ज्यान लिएको भन्दै यस्तो दिन अव कुनै पत्रकारले सहन नपर्ने बताउनु भयो । जनताको पक्षमा लेख्ने पत्रकारले देखाएको असल बाटोमा सवैले हिड्नु पर्ने औल्याउनु भयो । कार्यक्रममा प्रेस संगठनका केन्द्रीय सदस्य सुरेशचन्द्र अधिकारी, शालिग्राम नेपाल, शिशिर सिंखडा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, सिर्जना अर्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नारायण अधिकारी, शान्ता अधिकारी, पत्रकार महासंघका प्रदेश सदस्य कोमलचन्द्र भगत, रामकान्त पौडेल, प्रविण वराल, प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष तीर्थ नेपाल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष प्रकाश ज्ञवालीले मन्तव्य राखेका थिए ।


